मुग्लिङ सडकको सकस

पृथ्वी राजमार्गको मुग्लिङ–नारायणघाट खण्डको विस्तार कार्य अहिले जारी रहेको छ । विस्तार कार्यसँगै त्यहाँ पहिरो खसेर यात्रु वर्गले अनावश्यक दुःख कष्ट बेहोर्नु परिरहेको छ । विशेषगरी राजधानीलाई तराई जोड्ने सबैभन्दा चालू र अति व्यस्त सडकमध्ये मुग्लिङको ३६ किलोमिटर खण्ड हो । यो सडक नेपाली जनजीवनको जीवन रेखाकै रूपमा स्थापित छ । विश्व बैंकको दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच ४ टु खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ । चीन हुुँदै नेपालको कोदारी, काठमाडौं, नागढुंगा नौबिसे, मुग्लिन नारायणगढ, हेटौंडा र वीरगञ्जबाट भारतको मुजपफफरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ । सो सडक र चितवनमा पर्ने पृथ्वी राजमार्गको २० किलोमिटर क्षेत्रमा यस आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन् । जसमा ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता भएका छन् ।

पहिरो र अत्यधिक सवारी चापका कारण यो सडक अहिले जोखिमपूर्ण बन्दै गएको छ । जनधनको क्षति रोक्नका लागि सरकारले तुरुन्त वैकल्पिक व्यवस्था गर्नु जरुरी भएको छ । यो सडक हुँदै दैनिक ११ हजार सवारीसाधन गुड्ने ट्राफिक प्रहरीले जनाएको छ । राजधानी काठमाडौं भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडक खण्डको जोखिम मोल्नुपर्दैन । तर, पनि यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिँदैन । जसका कारण घन्टौं सडकमा खतरा बेहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनुपरेको छ । यो जोखिमबाट बच्नका लागि केही लामो यात्रा गरे पुग्छ । नारायणगढबाट मुग्लिनसम्मको दूरी ३६ किलोमिटर हो । सामान्य अवस्थामा यो दुरी पार गर्न एक घन्टाको समय लाग्ने गर्दछ । तर, पहिरोका कारण सडक अवरुद्ध हुँदा २० घन्टासम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था यहाँ सिर्जना हुने गरेको छ ।
पश्चिम नेपालबाट काठमाडौं जानआउने सवारीका साधन बुटवलबाट पाल्पा, स्याङजा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौं जानसक्ने व्यवस्था हुुँदाहुँदै सरकारले किन यसतर्फ सोच्न नसकेको हो । पूर्वी नेपालबाट काठमाडौं जाने सवारीसाधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् । नारायणगढबाट मुग्लिन हुुँदै काठमाडौं जाँदा एक सय ४६ किलोमिटर दुरी पर्दछ भने नारायणगढबाट हेटौंडा–नौबिसे हु“दै काठमाडौं जा“दा एक सय ८७ किलोमिटर दुरी पर्ने देखिन्छ । यो दुरी ४१ किलोमिटर मात्रै बढी हो । जुन एक घन्टाको थप यात्राले सहज पार गर्न सकिन्छ । नारायणगढबाट काठमाडौं जाने यात्रुका लागि पनि यो सडक सहज छ । तर, त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ भने साना सवारीलाई दुरी छोटो पर्दछ । जे भएता पनि धनजनको क्षति हुनुभन्दा अलि लामो यात्रा गर्नु नै कल्याण्कारी कार्य हो । यही सोचलाई सरकारले अगाडि बढाएर मुग्लिङ सडकको विस्तार कार्य सम्पन्न नभएसम्म अनिवार्य रूपमा वैकल्पिक सडकको प्रयोग गर्ने व्यवस्था तुरुन्त लागू गरियोस् ।

प्रतिक्रिया