सक्दो सहयोग गर्छौं : दाहाल

sakdo sahayog garxau dahal

काठमाडौं ११ असार । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले नेपालमा हुने १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) लाई खेलकुद मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकाको पोर्टल्यान्डमा भएको आइओएफटिसीको बैठकमा सहभागी हुने क्रममा सचिव दहालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘च्याम्पियनसिपका लागि बजेटको व्यवस्था पनि गरेका छौं । अन्य कुरामा पनि मन्त्रालयले सक्दो सहयोग गर्नेछ’, बैठकमा सचिव दाहालले भनेको कुरालाई उद्धृत गर्दै आइओएफटिसीका टुर्नामेन्ट डाइरेक्टर दीवाकर महर्जनले भने ।

बैठकमा च्याम्पियनसिपलाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्ने विषयमा पनि छलफल भएको महर्जनले जानकारी गराए । दुई वर्षको अन्तरालमा हुने च्याम्पियनसिप २०१८ को जनवरी पहिलो साता सुनसरीको इटहरीमा हुँदैछ । २०१६ मा पोर्टल्यान्डमै सम्पन्न च्याम्पियनसिपको ११ औं संस्करणको समापनका अवसरमा १२ औं संस्करण नेपालमा हुने घोषणा गरिएको थियो । त्यसबेला आयोजकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टलाई झण्डासमेत हस्तान्तरण गरेको थियो । केही महिनाअघि महर्जन च्याम्पियनसिपका लागि भौतिक पूर्वाधारलगायत अवलोकलन गर्न पोर्टल्यान्डबाट इटहरी आएका थिए ।
पोर्टल्यान्डमै आइओएफटीले आयोजना गरेको तेक्वान्दो ग्रेजुएसन कार्यक्रम र ओलम्पिक डेका अवसरमा आयोजित पिस वाकमा पनि सचिव दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भए । सचिव दाहाल आइतबार क्यानाडा जाँदैछन् । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटिएफ) का अध्यक्ष आठौं दक्षिण एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका स्वर्णधारी राजकुमार राईको अध्यक्षतामा बस्ने युयुएनटिएफको बैठकमा सहभागी हुन सचिव दाहाल क्यानाडा जान लागेको महर्जनले जानकारी गराए ।

प्रतिक्रिया