हुलाकी मार्ग आफै बनाऊ !

राजनीतिक स्वार्थ र पूर्वाग्रहबाट विकासको प्राथमिकता निर्धारण हुँदा देश र जनताले भोग्नुपर्ने सकसको उदाहरण हुलाकी मार्गको दुर्दशा हो । चारकोसे झाडीभन्दा दक्षिणबाट पूर्व–पश्चिम जोड्ने राजमार्गका रूपमा हुलाकी राजमार्गको परिकल्पना गरिएको थियो । पछि हुलाकी राजमार्गकै समानान्तर हुनेगरी चारकोसे झाडीको उत्तर वा बीचबाट पूर्वपश्चिम राजमार्ग बनाइयो । त्यसपछि त हुलाकी राजमार्ग झन् उपेक्षित भयो । केही वर्ष यता बर्सेनि बजेट पेस गर्ने बेलामा चर्चा हुने गरे पनि अहिले हुलाकी राजमार्ग छेउछाउका बासिन्दाका लागि यसले सुविधा होइन सास्ती र सकस थपेको छ ।
तराईका धेरै महत्वपूर्ण सहर र व्यापारिक केन्द्र जोड्ने भए पनि यसको महत्वलाई शासकहरूले उपेक्षा गर्दा यो विकासको अँध्यारो पक्षको उदाहरण बन्न पुगेको हो । भारतीय सहयोगमा बनाउने भनिए पनि विभिन्न कारण देखाएर हुलाकी राजमार्ग निर्माण कार्य उपेक्षित छ । न नेपाल सरकारले जिम्मा लिएको पुलपुलेसाहरू बन्नसकेका छन् न भारतीय कम्पनीहरूले ठेक्का पाएका सडकहरूमै अपेक्षित गतिमा काम भयो । सडक निर्माण सुरु भएको भन्दै मर्मत सम्भार गरिएको छैन । फलस्वरूप, पुराना पुलपुलेसाहरू भत्केर जोखिमपूर्ण बनेका छन् । भारतलाई यति धेरै रणनीतिक महत्वको सडक निर्माण सुम्पनु नै नेपाली पक्षले गल्ती हो । हुलाकी राजमार्गभन्दा धेरै पछाडि सुरु गरिएको मध्य पहाडी राजमार्गको निर्माण अपेक्षित गतिमा भइरहेको छ । यसले नेपाल सरकारले चाहने हो भने हुलाकी राजमार्ग बनाउन भारतको सहयोग पर्खेर बस्नै पर्दैन भन्ने स्पष्ट हुन्छ ।
मधेसका नाममा राजनीति गर्नेहरू सायद हुलाकी मार्गको यस्तै दुर्दशा भइरहोस् भन्ने चाहन्छन् । उनीहरूका लागि यो राज्यले मधेसलाई हेपेको उदाहरण देखाउन र तराईको जनभावना राज्यविरुद्ध उक्साउन काम जो लाग्छ । तराईका जनतालाई राज्यले उपेक्षा गरेको छैन भन्ने पुष्टि गर्न पनि हुलाकी राजमार्ग नेपालले आप्mनै लगानीमा बनाउनु उचित हुनेछ । भारतलाई अब अहिलेसम्मको सहयोगका लागि धन्यवाद भन्दै नेपालले आर्थिक वा वस्तुगत सहयोग मात्र अपेक्षा गरिएको जनाउ दिनुपर्छ । नत्र, अर्को १० वर्ष पनि हुलाकी राजमार्ग बन्दैन । हुलाकी राजमार्ग बनाउन पैसा नपुगे अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट तथा दुईपक्षीय ऋण लिए पनि हुन्छ तर नेपाल आफै“ले बनाउनुपर्छ । यसो गर्न सके सडक निर्माण त हुन्छ नै रोजगारी सिर्जना भएर अर्थतन्त्रमा पनि अनुकूल प्रभाव पर्नेछ ।

प्रतिक्रिया