जायज निर्देशन

काठमाडौं उपत्यकामा यातायात क्षेत्र दिन पर दिन अस्तव्यस्त अवस्थाबाट गुज्रिरहेको छ । व्यवस्थित यातायात व्यवस्थापनका लागि जति प्रयत्न गरे पनि सुधारको संकेत देखिएको छैन । यो समस्याले सवारी आवागमनमा जटिलता निम्त्याएको छ साथै दुर्घटनाको मात्रा पनि बढिरहेको छ । यातायात क्षेत्रमा सुधारको लागि यातायात व्यवस्था विभाग ट्राफिक प्रहरीले समय समयमा विभिन्न नियमहरू लागू गरे पनि सुधार हुन सकेको छैन । हालै ट्राफिक प्रहरीले पैदलयात्रीहरूले सडक पार गर्दा जेब्राक्रसिङबाटमात्र पार गर्नु पर्ने नियम ल्यायो । यो नियम आफँैमा सही छ ।

तर, उपत्यकाको सडकमा प्रयाप्तमात्रामा जेब्राक्रसिङको व्यवस्था नभएकाले पैदलयात्राीले सास्ती खेप्न बाध्य भएका छन् । यो नियम लागू भएपछि नियम कार्यान्वयनको सन्दर्भमा यात्री र ट्राफिक प्रहरीबीचमा केही असहज अवस्था उत्पन्न भयो । सडकमा पर्याप्त मात्रामा जेब्राक्रसिङ नभएको अवस्थामा पैदलयात्रीले जेब्राक्रसिङ खोज्दै लामो समयसम्म सडकमै रुमल्ली रहनुपर्ने हुँदा पैदलयात्रीहरूमा आक्रोश आउनु स्वाभाविकै हो । यस समस्यालाई समाधान गर्न हालै संसद्को विकास समितिले केही निर्णय गरेको छ । विकास समितिको शुक्रबारको बैठकले उपत्यकाको सडकमा १२० मिटरमा जेब्रा क्रसिङ राख्ने गरी ७ दिनभित्र मापदण्ड बनाउन र २ महिनाभित्र कार्यान्वयन गरिसक्न सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी निर्देशन दिएको छ ।

साथै पैदलयात्रीहरूलाई सडक अनुशासन पालना नगरेमा कारवाही गर्नुपूर्व पर्याप्त जनचेतना जगाउन, साथै सात दिनभित्र सडक अनुशासन निर्देशिका तथा सडक र सडकपेटी प्रयोग गर्ने निर्देशिका बनाएर कार्यान्वयन गर्न भनेको छ । विकास समितिको यो निर्देशन यातायात क्षेत्र सुधारको लागि सकारात्मक भए पनि निर्देशन कार्यान्वयन गर्ने निकायले गम्भीरतापूर्वक लिएर कामको थालनी गरेमात्र निर्देशन काम लाग्छ । वास्तवमा उपत्यकाको यातायात क्षेत्रमा देखिएको समस्या समाधान गरी सहज यातायात व्यवस्थापन गर्ने हो भने यातायात क्षेत्रको गुरुयोजना बनाउनु अति आवश्यक छ ।

समयमै गुरुयोजना नबनाइेकन यही अवस्थाबाट यातायात क्षेत्र गुज्रिनेहो भने काठमाडौं केही वर्षमै थप अव्यवस्थित सहरमा परिणत हुन जाने सम्भावनालाई नकार्न सकिन्न । भविष्यको यो सम्भावनालाई चुनौतीको रूपमा लिएर नेपाल सरकार ,सरोकारवाला सम्पूर्ण निकायहरूको समन्वयमा आवश्यक पहल गर्नु अति आवश्यक भइसकेको छ ।

प्रतिक्रिया