बास्केटबल टोली माल्दिभ्स जाने

काठमाडौं । पाँचौँ दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्सको माले प्रस्थान गर्दै छ । सदीश प्रधानको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा सौरव श्रेष्ठ, अजय कुश्वाहा, विनोद महर्जन, विनोद श्रेष्ठ, केतन खड्का, मविन्द्र भण्डारी, विक्रम जोशी, रविन खत्री, अशिम श्रेष्ठ, विजय बुर्जा र आयुश सिंह रहेका छन् । प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी तथा व्यवस्थापकमा नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठ छन् । फिबा रेफ्री राजकुमार महर्जन पनि टोलीसँगै माले जानेछन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं बास्केटबल संघका अध्यक्षसमेत रहेका एनओसी महासचिव लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच बिदाई गरे । मे १९ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, श्रीलंका, भारत र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताको विजेताले लेबननमा अगस्टमा हुने फिबा एसिया कपमा सहभागिता निश्चित गर्नेछ । विगतका ४ संस्करणमा नेपालले तेस्रोमा बाहेक सबैमा तेस्रो स्थान हासिल गरेको थियो । नेपालमै भएको तेस्रो संस्करणमा भने नेपाल चौथो भएको थियो ।

प्रतिक्रिया