विद्युत् नपुग्दा आठराई गाउँका जनता अन्धकारमा

तेह्रथुम २९ वैशाख । तेह्रथुमकोे पूर्वी क्षेत्रमा अवस्थित आठराई गाउँपालिकाका बासिन्दा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाबाट वञ्चित छन् । मुलुकलाई विद्युत् भार कटौती मुक्त बनाउने अभियान चलिरहेका बेला आफूहरूले भने विद्युतीकरणका लागि पटकपटक सम्बन्धित निकायसँग माग गरेको स्थानीय बताउँछन् । तर, आठराईमा अझैसम्म पनि विद्युत् विस्तार भएको छैन । वर्षौंदेखि विद्युत् सुविधाबाट वञ्चित यस क्षेत्रका वासिन्दा विद्युत् नहँुदा अन्धकारमा बस्न बाध्य छन् । यहाँका बासिन्दाले रातको अन्धकारलाई सोलार, टुकी बत्ती र साना जलविद्युत्ले गुजारा गरे पनि उद्योगधन्दा, सूचना प्रविधि र व्यक्तित्व विकास गर्न सकेका छैनन् । विद्युत् नहुँदा दिउँसै अँध्यारो महसुस भएको स्थानीय बताउँछन् ।
विद्युतमा पहुँच नभएकै कारण आठराईमा सञ्चार सुविधासमेत भरपर्दो छैन । स्थानीयलाई मोबाइल चार्ज गर्नै समस्या छ । बाहिरबाट काम र घुमफिरका लागि आठराई पुग्नेले समेत मोबाइल चार्ज गर्न नपाएर सम्पर्कविहीन भएर बस्नुपर्ने अवस्था छ । हुनेखानेका घरका छानामा सोलारका पाता टल्किएका छन् । विपन्नका घरमा अझै पनि मट्टितेल र टुकी बत्ती नै उज्यालोका माध्यम हुन् । ऐतिहासिक आठराई क्षेत्रमा पर्ने तेह्रथुमका सात वटा गाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा जोडिएको छैन ।

हालको आठराई गाउँपालिकाको केन्द्र अर्थात् आठराईको मुख्य व्यापारिक केन्द्र संक्रान्ति बजारसम्म विद्युत् सुविधा पु¥याउने अभियान चलाएको वर्षौं बितेको छ । तर, विद्युत् प्राधिकरणले आलटाल गरेरै टारिरहेको कारण अभियान, अभियानमा मात्रै सीमित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको तेह्रथुम वितरण केन्द्रका प्रमुख इन्जिनियर दीपक दाहालले अब केही महिनाभित्रै संक्रान्तिबजारमा विद्युत् वितरण हुने बताए । जिरिखिम्ती सबस्टेसनदेखि मोराहाङको फिडरबाट सम्दु इसिवु हँुदै संक्रान्ति बजारमा ११ केभी ट्रान्सफर्मर राखेर विद्युत विस्तारको तयारी अन्तिम पुगेको उनले बताए ।

प्रतिक्रिया