अपांगता भएकालाई उम्मेदवार बनाइएन

काठमाडौं २९ वैशाख । दलहरूले स्थानीय तह निर्वाचनमा अपांगता भएका व्यक्तिलाई उम्मेदवार नबनाएकामा युवा अपांग संगठन नेपालले गुनासो गरेको छ ।नेपालमै बढी अपांगता भएका व्यक्तिको बसोबास रहेको गोकर्णेश्वर नगरपालिकामा कुनै पनि दलले उम्मेदवार नबनाएको बिहीबार आयोजित स्वरोजगारमूलक सामाजिक पुनःस्थापना कार्यक्रममा अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।  नगरपालिकाको जोरपाटीमा नेपाल अपांग संघ, नेपाल अर्थोपेडिक अस्पताल, शारीरिक अपांगता भएका बालबालिकाका लागि अध्ययन गर्ने खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय रहेको छ ।

‘स्थानीय तहको निर्वाचन समावेशी हुनुपर्छ भनिए पनि समाजको महत्वपूर्ण अंग अपांगता भएका व्यक्तिलाई अपमान गरिएको छ, जोसुकै व्यक्ति अपांग हुनसक्छ, यसतर्फ सबै दलको ध्यान जानु जरुरी छ’ उनले भने । सो अवसरमा मोबाइल बनाउने प्राविधिक सीप सिकेका पाँच जना अपांगलाई मोबाइल मर्मत वर्कसप खोल्न आवश्यक सामग्री प्रदान गरियो । राजु धिताल, नरबहादुर मगर, हेमबहादुर भुजेल, निर्मला गौतम र योङ्जेन घलानलाई दुई लाख बराबरको मोबाइल सफ्टवेयर, मोबाइल टुल्स एन्ड पार्टस्लगायत सामग्री वितरण गरिएको थियो ।

सामग्री वितरण गर्न गोकर्णेश्वर नगरपालिका, गैरआवासीय नेपाली धर्मराज गिरी र चलचित्र निर्देशक अक्कलसिंहले आर्थिक सहयोग गरेको कार्यक्रममा जानकारी गराइयो । यसैगरी दुवै गोडा नचली हिँडडुल गर्न नसक्ने फणीन्द्रबहादुर मगरलाई ह्विलचियर प्रदान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख भूपेन्द्र बोहरा, दाताहरू गिरी र सिंहले अपांगता भएका व्यक्तिलाई पनि नीतिनिर्माण तहमा पद आरक्षण गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया