उम्मेदवारको मृत्यु भएको वडामा २ जेठमा मतदान

images 1चितवन, २८ वैशाख । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा मात्रै २ जेठमा निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूची सार्वजनिक गरिएको छ । सो वडामा २६ वैशाखमा वर्षासँगै परेको चट्याङ लागेर माओवादी केन्द्रबाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले बिहीबार उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी बिहीबार नै चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिए ।
अन्य क्षेत्रमा निर्वाचनका लागि खटिने सबै कर्मचारी तथा स्वयम्सेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको ढकालले जानकारी दिए । उनका अनुसार जिल्लाका तीन सय ७६ मतदान केन्द्रमा तीन हजार तीन सय ५० जना कर्मचारी र स्वयम्सेवक खटिएका छन् ।

चितवनका एसपी दीपक थापाले मतदान केन्द्रको सुरक्षा चुस्त पारिएको भन्दै सम्भावित क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए । चितवनमा सात स्थानीय निकाय रहेका छन् जसमा एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् । जिल्लामा कुल तीनलाख १३ हजार दुई मतदाता रहेका छन् ।

प्रतिक्रिया