‘नदीको प्रयोग गरी महानगरको समृद्धि’

 

मधेसको एक मात्र महानगरपालिका भरतपुरका प्रमुख पदका उम्मेदवारले दुई तर्फबाट बगेका नारायणी र राप्ती नदीको अधिकतम सदुपयोग गरी समृद्ध महानगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देशका ७४ जिल्लाबाट बसाइँ सरी यहाँ आएका नेपालीको संगमथलो भरतपुर महानगर हो । महाभारत पर्वत शृंखला हुँदै निकुञ्ज जोड्ने जंगल एकातर्फ पर्दछ भने अर्काेतर्फ नारायणी नदी पर्दछ । दक्षिणमा निकुञ्ज हुँदै बग्ने राप्ती नदी छ । त्यसको बीचको भू–भागमा असीमित सम्भावना बोकेको भरतपुर महानगरपालिका पर्दछ ।
भरतपुर महानगरपालिकामा यही ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा १५ जनाले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराए पनि प्रतिस्पर्धा भने मुख्य तीन दलबीचमा नै हुने देखिएको छ । प्रमुख प्रत्यासी दल नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार दिनेश कोइराला नारायणी र राप्ती नदीलाई अधिकतम उपयोग गरी यहाँको विकास गर्ने बताउँछन् । देवघाटदेखि मुग्लिनसम्म र देवघाटबाट त्रिवेणीधामसम्म जलयात्रा गर्न सकिने उनको भनाइ छ ।
नारायणीमा महानगरवासीको आफ्नै लगानीमा जलविद्युत् उत्पादन गरी महानगरवासीले उपलब्ध गराउने र बचेको बिजुली बिक्री गरेर आम्दानी गर्ने उनको सोच छ । चितवन राष्ट्रिय निकुञ्जको एकातर्फ पूरै सिमाना भरतपुर महानगरपालिका परेकाले पर्यटकीय दृष्टिले यो महानगरको सम्भावना अत्यधिक बढी भएको उनले बताउँछन् ।
राप्ती र नारायणी किनारमा ठूला होटल र मनोरञ्जन केन्द्र सञ्चालन गरी स्वदेशी र विदेशी पर्यटक भित्र्याएर यहाँको विकास गर्न सकिने कोइरालाले बताए । जेसिसका राष्ट्रिय अध्यक्ष भइसकेका कोइरालाले ‘समृद्धिका लागि परिवर्तन’ भन्ने नाराका साथ स्वास्थ्य र शिक्षामा हुने गरेको अवैध व्यापार अन्त्य गरी पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य निःशुल्क गराइने बताए ।
एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले पनि नारायणी नदीमा पर्यटकीय गतिविधिका साथै सम्भाव्यता अध्ययन भइसकेको एक सय ५० मेगावाट जलविद्युत् उत्पादन गरिने बताए । उनले महानगर र महानगरवासीको लगानीमा जलविद्युत् लगानी गरिने भन्दै यसले महानगर समृद्ध बनाउन टेवा पुग्ने बताए । नारायणी र राप्ती नदीलाई दुईतर्फ बाँध बाँधेर जलक्रिडा, मत्स्यपालन गर्दै देवघाटदेखि त्रिवेणीधामसम्म जलयात्रा सञ्चालन गर्ने आफ्नो योजना सुनाए । नदीका छेउमा तारे होटल र मनोरञ्जन केन्द्र खोल्न उत्प्रेरित गरिने उनले बताए ।
तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख समेत भइसकेका ज्ञवालीले आफ्नो पालामा नदीलाई प्रदूषणबाट रोक्न ढलको पानीलाई प्रशोधन गराएर मात्रै नदीमा मिसाएको बताए । उनले भरतपुरको समृद्धिको आधार नारायणी नदी रहेको बताए ।
नारायणी नदीसँग जोडिएको कविलासको पहाडको अधिकतम उपयोग गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताए । विश्वका प्रसिद्ध धार्मिक स्थलभन्दा महत्व बोकेको देवघाटको विकास गरी धार्मिक पर्यटक भित्र्याउने भन्दै उनले शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जनलगायतमा जोड दिने बताए । आफ्नो पहिलो प्रतिबद्धता ‘जीवनका लागि पानी’ भएको भन्दै उनले पाँच वर्षभित्रमा २९ वटै वडामा स्वच्छ खानेपानी पु¥याउने बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहनगर भरतपुर महानगरमा केन्द्रका तर्फबाट दाहालकी छोरी रेणु दाहाललाई प्रमुखका रूपमा उम्मेदवार बनाइएको छ । दुई नदी केन्द्रित पर्यटन गतिविधिको विकास गरी यसलाई समृद्ध बनाउन सकिने उम्मेदवार दाहालको भनाइ छ । राप्ती र नारायणी नदीको किनारमा रिङ्रोड निर्माण गरी सुन्दर सहरको परिकल्पना गरेकी दाहालले नगरभित्र हरियालीसहितको भित्री र बाहिरी दुईवटा चक्रपथ हुने बताए । कृषि लक्षित विशेष कार्यक्रम गरिने भन्दै उनले समृद्ध मेट्रो सिटीका रूपमा भरतपुरलाई विकास गर्न आफू लागिपर्ने उल्लेख गरिन् । अन्तर्राष्ट्रिय क्रिकेट र फुटबल खेल मैदान बनाइने भन्दै उनले व्यवस्थित बजार, सडक र ढललाई आफ्नो भावी कार्यक्रमका रूपमा लिएकी छन् ।
राप्रपा चितवनका अध्यक्ष समेत रहेका राप्रपाका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले देवघाटदेखि त्रिवेणीसम्म जलयात्रा सञ्चालन गरेर स्वदेशी र विदेशी पर्यटक भित्र्याउने बताए । नारायणी नदीलाई बाँध बाँधेर नदीले कटान गरेको क्षेत्रमा सुकुम्बासी व्यवस्थापन गर्न सकिने र चक्रपथ निर्माण गर्न सकिने उनको योजना छ । महानगरपालिकाको २९नं वडा रहेको कविलासमा हिलटावर निर्माण गरी पर्यटकको बसाइँ लम्ब्याउन सकिने भन्दै उनले पटिहानीदेखि जगतपुर हुँदै गोलाघाटसम्मलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने बताए ।
दुई लाख ८० हजार जनसंख्या रहेको भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २७४ मतदाता रहेका छन् । भरतपुर महानगरमा ८३ जनजातिको बसोबास रहेको छ । मुख्य रूपमा बाहुन, क्षेत्री, नेवार, गुरुङ, तामाङ, मगर, थारू, कामी, मुसलमान, दमै, ठकुरी, सार्कीको बसोबास रहेको छ । तत्कालीन भरतपुर नगरपालिकामा गीतानगर, मंगलपुर, पटिहानी, शिवनगर शुक्रनगर गाउँविकास समिति मिलेर उपमहानगरपालिका बनेको हो भने चित्रवन र नारायणी नगरपालिका तथा कविलास गाविस मिलेर महानगरपालिका बनेको हो । महानगरमा २९ वटा वडा रहेका छन् । जसमा प्रमुख, उपप्रमुखसहित एक सय ५० जना जनप्रतिनिधि निर्वाचिन हुनेछन् ।
महानगरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, दुईवटा मेडिकल कलेज, सरकारीस्तरका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालसहितका दुई दर्जन निजी अस्पताल रहेका छन् । पूर्व–पश्चिम राजमार्गबाट राजधानी काठमाडौं छिर्ने मुख्य नाकाका रूपमा भरतपुर रहेको छ ।

प्रतिक्रिया