दार्जिलिङ । भारतको दार्जिलिङ जिल्लाको विकट गाउँ लिंगियाको एक पुरानो चियाकमानको बीचमा अवस्थित पुरानो घर अचानक उज्यालो भयो । नेपाली साहित्यकी उज्वल तारा साहित्यकार पारिजातको जन्मघर थियो त्यो । त्यही घरको भ्रमण गर्दै सोही जिल्लाको बिजनबारी पुगेको नेपाली साहित्यकारहरूको एक प्रतिनिधिमण्डलले बिजनबारीमा ‘नेपाल–भारत काव्य–उत्सव’ सम्पन्न गरेको छ भरखर । सो स्थानमा नेपाल र भारतका विभिन्न सशक्त स्रष्टाहरू उपस्थित भएर कार्यक्रम सम्पन्न गरी सोमवार नेपाली टोली स्वदेश फर्केको छ ।
जरा फाउण्डेशन नेपालले आयोजना गरेको यस भ्रमण र उत्सवलाई भारततर्फबाट बिजनबारीस्थित प्रतिभा प्रेरणा परिषद, तथा सिक्किमको चिया कविताले संयोजन गरेको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं गद्य–आख्यान विभाग प्रमुख मातृका पोखरेलको प्रमुख आतिथ्यमा आयोजित उत्सवको अध्यक्षता भारतका ख्यातिप्राप्त नेपालीभाषी कवि मनप्रसाद सुब्बाले गरेका थिए ।
नेपालका विभिन्न जिल्ला तथा भारतको पश्चिमबंगाल र सिक्किम प्रान्तका कवि÷कलाकार सहभागी सो कार्यक्रममा १७ कविका कविता, दुई गायकका गीति प्रस्तुति तथा एक नृत्यांगनाको नृत्य प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि प्राज्ञ मातृका पोखरेलले आफू भारतका विभिन्न प्रान्तमा जाँदा नेपालको मूल संस्कृति नै त्यहाँ पनि प्रतिविम्बित भएको बताए ।
नेपाल र भारतका नेपालीभाषी सर्जकका बीचको सम्बन्ध निकै पुरानो र बलियो भएको भन्दै यसलाई थप सुदृढ बनाउन यस्ता अन्तर्देशीय महोत्सवहरू आवश्यक रहेको पनि उनले बताए । जरा फाउण्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले आगामी दिनमा पनि यस प्रकारका अन्तर्देशीय साहित्य उत्सवलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
युवा समालोचक तथा जरा फाउण्डेसनका महासचिव महेश पौड्यालले नेपाली साहित्य र कलाको विकासमा सिक्किम र दार्जिलिङको योगदान स्तुत्य रहेको भन्दै लीला लेखन, तेस्रो आयाम, किनारीकृतको पक्षमा साहित्य रचना, समावेशी लेखन, विचलन लेखन, सडक समूह, चियाकिवता तथा हस्तक्षेप कविता आन्दोलन नेपाली साहित्यका लागि यस भेगका मौलिक योगदान भएको दावी गरे । सभापतिको आसनबाट बोल्दै प्रसिद्ध कवि मनप्रसाद सुब्बाले बिजनबारीमा यस्तो अन्तर्राष्ट्रिय शैलीको कार्यक्रम भएको यो नै पहिलो भएको बताए । कार्यक्रममा नेपाल र भारतको प्रतिनिधित्व गर्दै कविहरू मनप्रसाद सुब्बा, कृष्ण प्रसाईं, मातृका पोखरेल, प्रवीण राई जुमेली, सुधाएम राई, टीका आत्रेय, अबीर खालिङ, लीला अनमोल, शारदा स्टेफी, निमेष सुब्बा सिकारु, दिपा राई, अम्बर लाचिकाठी गुरुङ, भूपेन्द्र सुब्बा, प्रवीण खालिङ, महेश दाहाल आदिले आफ्ना कविता वाचन गरेका थिए । कार्यक्रममा गायक खेम सुब्बाले गीत तथा रुसालीले नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया