अस्थिरताको पराकाष्ठा : १७ वर्षमा ४ निर्वाचन, १४ प्रधानमन्त्री !

गणतन्त्रको यो १७ बर्से उमेरमा देशमा ४ पटक निर्वाचन भयो (गणतन्त्र घोषणाअघि २०६४ सालमै निर्वाचन भए पनि सोही निर्वाचनले बनाएको संविधानसभा २०७० सालसम्मै रह्यो) भने १४ पटक प्रधानमन्त्री फेरिए । ३ पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, ४ पटक एमाले अध्यक्ष केपी शर्मा ओली र २ पटक कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरे भने एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल, कांग्रेसका सुशील कोइराला, माओवादीका बाबुराम भट्टराई र खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष) १/१ पटक प्रधानमन्त्री भए । १७ वर्षमा करिब ७ वर्ष ७ महिना एमालेको हातमा सत्ता रह्यो भने ४ वर्ष ८ महिना माओवादी र ३ वर्ष ९ महिना कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन भयो ।

गणतन्त्र स्थापनापछि २ भदौ, २०६५ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । ११ जेठ, २०६६ सम्म ९ महिना प्रधानमन्त्री बनेका उनले त्यसपछि राजीनामा दिए । देशको ठुलो दलका रूपमा माओवादी उदाए पनि बहुमत नहुँदा पहिलो संविधानसभाको ५ बर्से कार्यकालमा प्रचण्डसहित ५ जना प्रधानमन्त्री बने । प्रचण्डपछि ११ जेठ, २०६६ देखि २३ माघ, २०६७ सम्म १ वर्ष ८ महिना तत्कालीन एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री बने । त्यसपछि २३ माघ, २०६७ देखि १२ भदौ, २०६८ सम्म एमालेकै झलनाथ खनाल ७ महिना प्रधानमन्त्री भए ।

त्यसपछि माओवादीका डा. बाबुराम भट्टराई १२ भदौ, २०६८ देखि ३० फागुन, २०७० सम्म १ वर्ष ६ महिना प्रधानमन्त्री भए । उनको कार्यकालसँगै पहिलो संविधानसभाको समयसीमा पनि समाप्त भयो । त्यसपछि दोस्रो संविधानसभाको निर्वाचन गराउन स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाइयो । उक्त अन्तरिम सरकारको नेतृत्व तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले गरे । रेग्मी १ चैत, २०६९ देखि २८ माघ, २०७० सम्म ११ महिना मन्त्रिपरिषद् अध्यक्ष बने । रेग्मीकै नेतृत्वमा दोस्रो संविधानसभा निर्वाचन भयो ।

दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्यो । प्रधानमन्त्री बने– सुशील कोइराला । कोइराला २८ माघ, २०७० देखि २५ असोज, २०७२ सम्म करिब १ वर्ष ८ महिना प्रधानमन्त्री रहे । उनै कोइराला प्रधानमन्त्री हुँदा नेपालले संविधानसभाबाट बनेको पहिलो संविधान पाएको थियो । परिवर्तित राजनीतिक घटनाक्रमका कारण करिब ४ वर्षपछि सत्ता फेरि एमालेकै हातमा प¥यो । प्रधानमन्त्री बन्ने मौका पाए, एमालेका केपी शर्मा ओलीले ।

ओली २५ असोज, २०७२ देखि २० साउन, २०७३ सम्म ११ महिना प्रधानमन्त्री बने । ओलीपछि प्रचण्ड करिब ८ वर्षपछि सत्तामा फर्किए । उनी २० साउन, २०७३ देखि २३ जेठ, २०७४ सम्म दोस्रो कार्यकालका लागि १० महिना प्रधानमन्त्री बने । प्रधानमन्त्रीबाट प्रचण्ड बाहिरिँदै गर्दा पहिलो आमनिर्वाचनको मिति नजिकिँदै थियो । निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । २३ जेठ, २०७४ देखि ३ फागुन, २०७४ सम्म ८ महिना प्रधानमन्त्री बनेका उनले सफलतापूर्वक आमनिर्वाचन गए ।

तर, पहिलो आमनिर्वाचनबाट एमाले पहिलो दल बन्यो र माओवादी दोस्रो । त्यसपछि फेरि ओली नेतृत्वमा माओवादीसहितको सरकार बन्यो । यहीबीचमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो । ओली ३ फागुन, २०७४ देखि ३० वैशाख, २०७८ सम्म करिब ३ वर्ष ३ महिना प्रधानमन्त्री बने । गणतन्त्र स्थापनापछि सबैभन्दा लामो समयसम्म ओली नै प्रधानमन्त्री बने । तर, नेकपासँगको विवाद चरम उत्कर्षमा पुगेपछि सनकका भरमा ओलीले संसद् विघटन गरिदिए । संसद् विघटन भएपछि पनि करिब १ महिना उनै ओली तेस्रो पटकका लागि प्रधानमन्त्री नियुक्त भए । त्यसबेला उनी ३१ वैशाख, २०७८ देखि २९ असार, २०७८ सम्म प्रधानमन्त्री बनेका थिए ।

ओलीले २/२ पटक संसद् विघटन गरेपछि यो विषयले राजनीतिक रूपमा ठुलै हलचल मच्चायो । यो विषयले सर्वोच्चमै प्रवेश पाएपछि ओली सत्ताच्यूत भए । र, सर्वोच्चको परमादेशमा कांग्रेसका शेरबहादुर देउवा पुनः प्रधानमन्त्री भए । पहिलो आमनिर्वाचन गराएका देउवा फेरि दोस्रो आमनिर्वाचन गराउने भूमिकामा आए । त्यसबेला उनी २९ असार, २०७८ देखि १० पुस, २०७९ सम्म १ वर्ष ५ महिना प्रधानमन्त्री रहे ।

दोस्रो आमनिर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । तर, सरकार गठनको समयमा यी २ दलबीच असन्तुष्टि चुलिएपछि प्रचण्डले एमालेसँग सहकार्य गरे । र, १० पुस, २०७९ मा फेरि एक पटक प्रधानमन्त्री बने । पटक–पटक गठबन्धन फेर्दै प्रचण्डले ३१ असार, २०८१ सम्म १ वर्ष ७ महिना प्रधानमन्त्रीको कुर्सी ओगटिरहे । पटक–पटक फेरिएको गठबन्धनबाट आजित बनेका कांग्रेस र एमाले अन्त्यमा एकजुट भए । त्यसपछि कांग्रेसको समर्थनमा केपी शर्मा ओली चौथो पटकका लागि प्रधानमन्त्री बने । ३१ असार, २०८१ बाट करिब १० महिनादेखि ओली प्रधानमन्त्री छन् ।

को कति पटक प्रधानमन्त्री बने ?

केपी शर्मा ओली : ४ पटक

पुष्पकमल दाहाल प्रचण्ड : ३ पटक

शेरबहादुर देउवा : २ पटक

झलनाथ खनाल : १ पटक

माधवकुमार नेपाल : १ पटक

बाबुराम भट्टराई ; १ पटक

खिलराज रेग्मी : १ पटक (मन्त्रिपरिषद् अध्यक्ष)

सुशील कोइराला : १ पटक

प्रतिक्रिया