बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै

 

काठमाडौं । नेपालमा पहिलोपटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा–लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो । पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनः बिजुलीकै सहायताले माथि तानी पुनः विद्युत् उत्पादन गर्ने गरिन्छ । छिमकी राष्ट्र चीनमा यसप्रकारका आयोजना बढी सञ्चालनमा छन् ।
लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिब एक सयदेखि तीन सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । बेगनास माथिल्लो र रुपा तल्लो तहमा पर्छ । विद्युत्को अध्यधिक माग हुने साँझको समयमा करिब चार घन्टा चलाउन मिल्ने गरी पिक स्टोरेज बनाउने प्रस्ताव प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगाडि सारेका हुन् ।
आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत् माग पूरा गर्ने ब्याट्रिकोरूपमा काम गर्ने प्राधिकरणको विश्वास छ । सरकारले गतसाल फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा संकटकाल तथा कार्यान्वयन दशकसम्बन्धी अवधारणामा समेत पम्प स्टोरेज आयोजनालाई अगाडि बढाउने विषय समावेश गरेको थियो ।
०७५ असारमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणपछि पनि पिक आपरको विद्युत् मागलाई पूरा गर्न गाह्रो हुने र ऊर्जाको विविधिकरणका लागि प्राधिकरणले पिक स्टोरेज निर्माण योजना अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उनका अनुसार, बेगनास र रुपा तालबीचमा रहको ५७ मिटर लामो प्राकृतिक बाँधलाई प्रयोग गरेर आयोजना निर्माण गरिनेछ ।

कार्यकारी निर्देशक घिसिङले पम्प स्टोरेज आयोजना निर्माणका लागि अध्ययन भइरहेको र छिट्टै निष्कर्षमा पुगिने जानकारी दिए । बेगनासतालको सञ्चित पानी त्यहीको प्राकृतिक बाँधमा प्रयोग गरी रुपातालमा खसाएर विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ कार्यकारी निर्देशक घिसिङले भने, ‘रुपातालमा जम्मा भएको पानीलाई रातको समयमा पम्प गरी पुनः बेगनास तालमै खसालिनेछ ।’ रुपातालमा खसालिएको पानी पुनः बेगनासमा फर्काइने भएकाले त्यसले दुबै तालको हालको प्राकृतिक अवस्था, सौन्दर्य तथा जैविक अवस्थितिलाई कुनै पनि प्रभाव नपार्ने अध्ययनले देखाएको छ ।
कार्यकारी निर्देशक घिसिङले केही दिनअघि प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेसहितको प्राविधिक टोलीले आयोजनाको स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो ।

यसअघि काठमाडौं विश्वविद्यालयको सिभिल तथा जियोमेटिक्स विभागका प्राडा रमेशकुमार मास्के नेतृत्वको टोलीले केहीवर्ष अघि गरेको अध्ययनले बेगनास–रुपा पम्प स्टोरेज जलविद्युत् आयोजनाबाट एक सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो । आयोजनाबाट साँझका पाँच घन्टा एक सय मेगावाट विद्युत् उत्पादन गर्नसक्ने देखाएको छ । विद्युत् उत्पादनपछि रुपाको पानी बेगनासमा फर्काउने कार्यका लागि पम्प चलाउन करिब एक सय २५ मेगावाट विद्युत् आवश्यक पर्नेछ । रातको समयमा उल्लेख्य मात्रामा विद्युत् उपलब्ध हुने भएकाले त्यसमा कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया