आयो ‘नेपाली सभ्यता ः विगत र वर्तमान’ सौर्य समाचार

काठमाडौं । नेपालको ऐतिहासिक सभ्यताका बारेमा लोककृष्ण भट्टराईले लेखेकोे पुस्तक ‘नेपाली सभ्यता ः विगत र वर्तमान’ को बुधबार विमोचन गरिएको छ । पुस्तकको एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र साहित्यकार नरनाथ लुइँटेलले संयुक्तरूपमा विमोचन गरे । पुस्तकको विमोचन गर्दै वरिष्ठ नेता खनालले गणतन्त्र र लोकतन्त्रको उत्पत्ति नेपालबाट भएको बताए ।
‘नेपालको पुरानो सभ्यता हेर्ने हो भने गणतन्त्र र लोकतन्त्रको उत्पत्ति नेपालबाट नै भएको हो’ उनले भने, ‘राजा शुद्धोधन गणराज्यले निर्वाचित गरेका प्रमुख थिए । अरू राजा पनि एउटा राज्यको प्रमुख भएको इतिहास छ ।’
पूर्वप्रधानमन्त्री खनालले लेखकले पुस्तकमा उल्लेख गरेजस्तै मिथिला सभ्यताको सुरुआत नेपालबाटै नै भएको दाबी गरे । उनले पुस्तकमा लेखिएको तथ्यको आधारमा वास्तविक सत्य पत्ता लगाउन सकिने हो भने नेपालबाट नै सभ्यताको सुरुआत गरिएको मान्न सकिने धारणा राखे ।
उनले नेपाल निर्माणको लागि ऐतिहासिक विकासक्रमको भौतिकवादलाई अध्ययन गर्न जरुरी रहेको उल्लेख गरे । नेता खनालले पुस्तकमा लेखिएका कुरा अध्ययनका लागि उत्सुक भएर लाग्न प्रेरणा दिने उल्लेख गर्दै हामी हाम्रो देशको इतिहासलाई अझ गहिरो तरिकाले अध्ययन गर्न सहयोग पु¥याउने दाबी गरे ।
कार्यक्रममा अर्का एमाले नेता नेपालले पुराना सभ्यताका रूपमा रहेका पुराना सालिक, दरबार भत्काउने कार्य भइरहेको बताए । ‘पुराना सभ्यता इतिहासलाई मेटाउन खोजिएको छ’ उनले भने, ‘पुराना शासकका सालिक केही भए पनि समाप्त पार्न खोजिएको छ । पुरानाको चर्चा नगरी निमिट्यान्न पार्ने खालका क्रियाकलाप भइरहेको छ ।’
‘राणाकालीन दरबार भत्काइँदै छ । कुनै दिन नारायणहिटी दरबार पनि भत्काउनेछन् । अनि शाहवंश समाप्त पारे भन्दै खुसियाली गर्ने छन्’ उनले भने, ‘कहिले बुद्धकालीन इँटा लुटेर इतिहास मेटिने खतरा रहेको छ ।’ उनले इतिहासका वस्तुलाई जोगाउने संस्कार नभएकाले इतिहासप्रति गौरवबोध हुन नसकेको धारणा राखे । पुस्तकमाथि टिप्पणी गर्दै क्रान्तिकारीका अध्यक्ष वैद्यले नेपाली सभ्यताको विकासमा शिव, बुद्ध र कार्लमाक्सलाई एउटै ठाउँमा लेखकले उभ्याउन खोजिएको बताए । उनले विश्वको ठूलो सभ्यतामध्ये नेपालको सभ्यता पुरानो रहेको उल्लेख गर्दै शिव भौतिकवाद र बुद्ध द्वन्द्वात्मवाद भएको उल्लेख गरे ।
उनले मधेसवादी दललाई मिलाएर लैजानुको विकल्प नभएको भन्दै निर्वाचनमा दललाई चुनाव चिह्न नदिनु र मतदाताको नाम नराख्नु लोकतन्त्र विरोधी भएको बताए । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजना भएको कार्यक्रममा लेखक भट्टराईले नेपालको सभ्यतालाई विश्वसामु परिचित गराउन लागि पुस्तक लेखिएको बताए ।
उनले पुस्तकमा नेपाली सम्यताको विकास क्रमको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन र नेपालको विकासको मोडेलको बारेमा लखेको छ । विभिन्न आठ अध्यायमा लेखिएको पुस्तकमा लेखकले नेपाली जनतालाई शिक्षित र दक्ष बनाउनका लागि उनको प्राकृतिक स्रोत साधन अधिकतम प्रयोग गर्नु जोड दिएका छन् ।

प्रतिक्रिया