शंखरापुरका पीडितले अनुदान पाएनन्

काठमाडौं । भूकम्पको दुई वर्ष बित्न लाग्दासमेत शंखरापुर नगरपालिकाको दुई वटा वडाका स्थानीयवासीले घर पुनर्निर्माणका लागि पहिलो किस्ता पाउन सकेका छैनन् । नगरपालिकाको साविक वडा नं ९ र १० हालको वडा नं ७ का पीडितले पहिलो किस्ताको ५० हजार पाउन नसकेको स्थानीय नरबहादुर कार्कीले गुनासो गरे । अरू वडाका पीडितले पहिलो किस्ता पाएर घर पुनर्निर्माण सुरु गरे पनि यो वडाका स्थानीयवासी यसवर्षको वर्षात्मा पनि टहरामै बस्नुपर्ने चिन्तामा छन् ।
लाभग्राही सूचीमा नाम ननिस्कने पीडितले गुनासो दर्ता गराएकाले एकैपटक राहत दिने गरी पहिलो किस्ता नबाँडेको स्थानीय कुबेरबज्र बज्राचार्यको अनुमान छ । नाम निस्केका लाभग्राहीलाई पहिलो किस्ता दिए घर बनाउन सुरु गर्न सकिने स्थानीयवासीको भनाइ छ । नगरपालिकामा भूकम्पपछिको पुनर्निर्माणको समन्वय गरिरहेका इन्जिनियर मिलन फुयाँल शंखरापुर नगरपालिकाका दुई वडा, गोकर्णेश्वर नगरपालिका–१३ र महानगरपालिकाका केही वडाका पीडितको सूची जिल्ला समन्वय समितिको लेखा शाखामा छुटेकाले पहिलो किस्ता आउन ढिला भएको सूचना पाएको बताउँछन् ।
जिल्ला समन्वय समिति काठमाडौंका सूचना अधिकृत प्रविन प्याकुरेल कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रणालीका कारण शंखरापुर र गोकर्णेश्वर नगरपालिकाका केही वडा र महानगरपालिकाका केही लाभग्राहीलाई पहिलो किस्ताको चेक पठाउन ढिला भएको स्वीकार्छन् ।
केन्द्रीय तथ्यांक विभागले सर्वेक्षण गरी पठाएका लाभग्राहीमध्ये राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंमा ४२ हजार पाँच सय लाभग्राहीको सूची पारित गरेको थियो । त्यसमध्ये ३६ हजार लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको छ । अनुदान सम्झौता गरेकामध्ये ३४ हजारको खातामा पहिलो किस्ताको ५० हजार पठाइएको समन्वय समिति काठामाडौंले जनाएको छ ।

प्रतिक्रिया