शताब्दी काटेका वृद्धा मतदानको पर्खाइमा

मोरङ । पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ औं वसन्त पार गर्दै थिए । अहिले उनले एक शताब्दी अर्थात् एक सय वर्ष काटिसकेका छन् । मतदान गर्न जाँदा हजुरबाले बोकेर लगेका ज्ञानेन्द्रबहादुर भित्रिकोटी २० वर्षका युवा भएका छन् । मतदानपछि त्यही वर्ष जन्मिएकाको उमेर पनि १८ वर्ष नाघिसकेको छ । पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । त्यसयता भएको छैन । जसले गर्दा आमनेपालीको मतदान गर्ने इच्छा र चाहना पूरा हुन सकेको छैन ।
मोरङ वयरवनकी दुक्कादेवी राजवंशी गएको स्थानीय निर्वाचनमा ६६ वर्षकी थिइन् अहिले उनी ८५ वर्ष पार गर्दै छन् । यी त केही सामान्य उदाहरण हुन् । २०५४ सालमा भर्खर जन्मिएका शिशु जवान भएका छन् । जवान वयस्क भएका छन्, वयस्क वृद्ध भएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा मतदान गर्नबाट धेरै वञ्चित भएका छन् ।
२००७ सालदेखि कै परिवर्तनलाई नजिकबाट हेरिरहेका मानबहादुर भित्रिकोटीले मतदान गर्ने तीव्र इच्छा व्यक्त गर्दै भने, ‘वैशाख ३१ गतेसम्म त अब कसो नबाँचौँला ? त्यहाँबाट पनि उता स¥यो भने चाहिँ यसै भन्न सकिँदैन ।’ करिब दुई दशकपछि हुनलागेको स्थानीय तहको निर्वाचनले मतदाता उत्साहित देखिएका छन् । सहर, बजार र ग्रामीण क्षेत्रका चिया पसलमासमेत यतिबेला कुराकानी गर्ने प्रमुख विषय नै स्थानीय तहको निर्वाचन बनेको छ । दलका नेता गाउँ पस्ने क्रम बाक्लिएको छ । आफ्नो महत्वपूर्ण अधिकार प्रयोग गरी जनप्रतिनिधि छान्ने सुनौलो अवसर गुम्ने हो कि भन्ने चिन्ता पनि उनीहरूमा छ । जनप्रतिनिधि नभएकै कारण गाउँको विकासले गति लिन नसकेको मोरङ सुन्दरदुलारीका युवा राजीव शर्माले बताए । एउटा सामान्य कामका लागि पनि सचिव खोज्दै सदरमुकाम धाउनुपर्ने बाध्यताले सर्वसाधारण आक्रान्त भएको बताउँदै उनले वैदेशिक रोजगारीमा जाने सबै प्रक्रिया पूरा गरिसकेको भएपनि एक महिनापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गरेर मात्रै जाने हो कि भन्ने सोचाइ बनाएको बताए ।

प्रतिक्रिया