पहिरोमा मृत्यु हुनेको संख्या २ सय ५४ पुग्यो

मोकोआ । कोलम्बियामा विनाशकारी पहिरोमा परी मृत्यु हुनेहरूको संख्या २ सय ५४ पुगेको छ । मोकमोआमा भएको घटनामा परी मृत्यु भएकामध्ये ४३ जना बालबालिका रहेका छन् । अन्य दुई सय जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्यकर्मीहरूले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको प्रकोप फैलिनसक्ने भएकाले पूर्व सतर्कता अपनाउन आह्वान गरेका छन् । राष्ट्रपति जोन म्यानुअल सान्तोषले ठूलो स्वास्थ्य समस्या देखिनसक्ने भन्दै पानी र औषधिको तत्कालीन व्यवस्था गर्न निर्देशन दिएका छन् । विद्युत् र खानेपानीको सेवा अहिलेसम्म पनि सुचारु हुन सकेको छैन । विद्युत् वितरणका संरचना फेरि बनाएर विद्युत् सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीले बताएका छन् । तत्कालका लागि भने त्यहाँ बोतलको पानीको व्यवस्था गरिदैँछ ।
सरकारसँग ऐतिहासिक शान्ति प्रक्रियामा रहेको वामपन्थी विद्रोही समूह रिभोलुस्नरी आर्मड फोर्स अफ कोलम्बिया (एफएआरसी)ले पनि विपद्मा परेकालाई अनपेक्षित सहयोग गरेका छन् । उनीहरूले बाढीपहिरोले क्षतिग्रस्त ठाउँको पुनःनिर्माणका लागि पनि योजना बनाइरहेको बताएका छन् । स्थानीय बासिन्दाले विपद्का लागि कुनै पूर्व तयारी नभएको बताएका छन् ।
गत शुक्रबार अबेर भीषण वर्षा भएपछि बाढीपहिरोको सामान्य चेतावनी भने दिइएको थियो । पहिरोले हजारौँ घर, पुल,
सवारीसाधन, रुख ढलाएको तथा बगाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन एकाइका निर्देशक कार्लोस इभान माक्र्विजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताए । विशाल हिमपहिरोका कारण मोकोआ नदीमा ठूलो बाढी आएको उनको भनाइ छ ।
राष्ट्रपति सान्तोषले त्यो नदीमा केही पहिनादेखि बेलाबेलामा यस्तो बाढी आउने गरेको र नदीवरिपरि बसोवास गर्नेहरूलाई सतर्क रहन भनिए पनि अनपेक्षित बाढी आएको बताए । उनले यस दुःखको घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘हामी सबै बाढिपहिरोपीडितको साथमा छौं, हामी तपार्इंहरूको लागि प्रार्थना गरिरहेका छौं’, उनले भने ।
कोलम्बियामा बेलाबेलामा यस्ता बाढिपहिरोका कारण सयौँको मृत्यु हुने गरेको छ । सन् २०११ यता यसपटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीहरूले जनाएका छन् । गत नोभेम्बरमा दक्षिणी पश्चिमी क्षेत्रमापर्ने इल टम्बोमा आएको पहिरोमा परी ९ जनाको मृत्यु भएको थियो । त्यसैगरी एक महिना अगाडि आएको अर्को पहिरोका कारण १० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया