काठमाडौं । सरकारले ‘फोहर पानीको पुनः प्रयोग गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि ‘नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७३ मनाउने भएको छ । संयुक्त राष्ट्र संघको कार्यक्रमअनुसार यही ४ चैतदेखि १० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारीले जानकारी दिए । विश्वभर नै जलवायु परिवर्तनका कारण पानीका स्रोत घट्दै गएको र मौसमी घटनामा आएको बढोत्तरीका कारण नागरिकको दैनिकी र जनजीवनमा समेत संकट पर्ने अवस्थामास्वच्छ पानीको महत्वबारे जनचेतना जगाउनु र पानीको स्रोत र दिगो व्यवस्थापनबारे नागरिकदेखि नीतिनिर्माणको तहसम्म ध्यानाकर्षण गराउनु नै सप्ताहको प्रमुख उद्देश्य रहेको अधिकारीको भनाइ छ ।
फोहर पानीको पुनः प्रयोग, यसको महत्व र विविध प्रयोगमा वृद्धिका लागि जोड दिनु नै सप्ताहको प्रमुख लक्ष्य रहेको छ । संसारभर कुल ७१ प्रतिशत क्षेत्र पानीले ढाकेकामा ९६ दशमलव ५ प्रतिशत पानी महासागर र समुद्रमा रहेको तर उपलब्ध पानीमध्ये ० दशमलव ७६ प्रतिशत पानी मात्रै पिउनयोग्य छ ।जलवायु परिवर्तनका कारण विश्वभर नै स्वच्छ पानीको मात्रा घट्दै गएको सन्दर्भमा फोहर पानीलाई नै कसरी पुनःप्रयोग गर्न सकिन्छ भन्ने बारेमा राष्ट्र संघले यसवर्ष फोहर पानीलाई नै विशेष जोड दिएको आयोगका सहसचिव माधव बेल्वासे बताउँछन् । नेपालमा बर्सेनि पानी पर्ने दर नघटे पनि वर्षामा अधिक वर्षा हुने र हिउँदमा बढी सुख्खा हुने प्रणाली विकास भइरहेको, मरुभूमीकरण बढ्दै गएको, हिमनदी सुक्दै जान थालेको तर्फ भने सचेतना जरुरी रहेकाले संसारभर नै बढ्ता चासोका साथ पानी संरक्षणमा लाग्नुपर्ने आवाज उठेको आयोगका अर्का सहसचिव केशवध्वज अधिकारीको धारणा छ ।
संयुक्त राज्य अमेरिकामा सन् २०१० मा गरिएको अध्ययनानुसार संसारभर दुई सय ७५ बिलियन ग्यालेन सतहको पानी प्रयोग गर्ने गरिएकामा दैनिक ७९ दशमलव ३ विलियन ग्यालेन प्रयोग हुने गरेको छ । सन् २०१७ मा आइपुग्दा पानीको प्रयोग सन् २०१० को तुलनामा अझ बढेको पाइएको छ । सतहको पानी खानेपानी र सिँचाइका लागि प्रयोग हुने गरेको तर उद्योगधन्दाको विकास, जैविक इन्धनको प्रयोग तथा अन्य विभिन्न कारणले गर्दा जलवायुमा परिवर्तन आएका कारण पानी क्रमशः सुक्दै गएको अवस्थाप्रति राष्ट्र संघले सचेत गराएको छ ।
प्रतिक्रिया