लमजुङ, २६ माघ । लमजुङ जिल्लामा परिवार नियोजन प्रयोगकर्ता बढेको छ । गत आर्थिक वर्षको पहिलो ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा परिवार नियोजन प्रयोगकर्ता बढेका हुन् ।
गत आर्थिक वर्षमा २३ जनाले मात्र परिवार नियोजन गरेकोमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ सय ११ जनाले परिवार नियोजन गरेको जिल्ला जनस्वास्थ्य कार्यलयका स्वास्थ्य सहायक गौरव ढकालले बताए ।
जिल्लाको तथ्यांकअनुसार गत आर्थिक वर्षमा परिवार नियोजन प्रयोग दर २७ प्रतिशत मात्र थियो । तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष परिवार नियोजन प्रयोगकर्ता अत्यधिक घटेका थिए । अघिल्लो आव ०७१ र ७२ मा परिवार नियोजन प्रयोगदर ३८ प्रतिशत थियो ।
जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाइँले भने ‘संख्यात्मक रूपमा प्रयोगकर्ता वृद्धि गर्न निकै गारो छ । तर, ग्रामीण भेगसम्म स्वास्थ्यकर्मीलाई परिचालन गरी परिवार नियोजनको बारेमा सचेतनाका कार्यक्रम गर्नाले यसमा उल्लेख्य प्रगति भएको छ ।’
पुरुषले भन्दा महिलाले बढी मात्रामा परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ । ‘पुरुषले प्रयोग गर्नेभन्दा महिलाले प्रयोग गर्ने साधन नै बढी भएकोले प्रयोगकर्ता पनि महिला नै बढी भएका हुन्,’ चापागाइँले भने ।
प्रतिक्रिया