तेह्रथुम, २६ माघ । रोजगारीका लागि गाउँका युवा बिदेसिन थालेपछि अधिकांश गाउँमा काम गर्ने जनशक्तिको अभाव भएको छ ।
एकपछि अर्को गर्दै गाउँका युवा रोजगारीका लागि बिदेसिँदा खेतबारीमा काम गर्ने मानिस पाइन छोडेको इवाका पूर्वगाविस अध्यक्ष डम्बरबहादुर इङनामले बताए । ‘सबै युवा बिदेसिएपछि काम गर्ने मान्छे नभएर खेतबारी बाँझै छन्’ उनले भने, ‘यस्तै हो भने अब केही वर्षभित्रै खेतबारी जति जंगलमा परिणत हुन्छन् ।’
गतवर्षसम्म १ सय ५० रुपैयाँमा पाइने १ जना खेताला अहिले ५ सय रुपैयाँमा पनि पाइन छाडेका छन् । स्वदेशमा रोजगारीको अवसर नपाउँदा युवा गाउँमा भेटिन छाडेका छन् । युवा गाउँमा नभएपछि स्थानीय हाटबजार र मेलासमेत बन्द हुन थालेको शुक्रबारेका नारायण सुब्बाले बताए ।
‘मलामी जाने मान्छेको अभाव हुुन थालेको छ, बुढापाकाले नै शव घाटसम्म पु¥याउनुपर्छ,’ उनले भने । गाउँमा युवा नहुँदा सामाजिक कार्य गर्नसमेत अप्ठ्यारो पर्न थालेको उनको भनाइ छ । विवाह, व्रतबन्ध, पुराणलागायत गाउँमा हुने सामाजिक कार्यमा सघाउने युुवा छैनन् । सबै काम बुढापाका र महिलाले गर्नुपर्ने अवस्था छ । स्थानीयस्तरका विकास निर्माणका कामसमेत प्रभावित भएका छन् ।
भवन निर्माण, सडक खन्नेलगायत कामका लागि जनशक्ति पाइन छाडेको निर्माण व्यवसायी कमल ढुंगानाले बताए । अहिले जिल्लामा सञ्चालित उद्योग र निर्माणका काममा तराई क्षेत्र र भारतको बिहारबाट कामदार ल्याएर काम लगाउनु परेको व्यवसायीहरू बताउँछन् । बाहिरबाट जनशक्ति मगाउँदा महँगो पर्ने हुँदा विकास निर्माणका कामको लागत पनि बढेको छ ।
म्याङलुङ क्याम्पसका सह–प्राध्यापक प्रकाश ढुंगाना उच्च तहसम्मको पढाइ सकेर रोजगारीका लागि खाडीमूलुक जानुपर्ने बाध्यतालाई नीतिगत तहबाटैै रोक्नुपर्ने बताउँछन् । २ वटा नगरपालिका र २१ वटा गाविस रहेको जिल्लाको जनसंख्या १ लाख १ हजार ५ सय ७७ मात्र छ । बर्सेनि युवा रोजगार खोज्दै विदेश जाने प्रवृत्ति नरोकिए अबको ५ वर्षमा गाउँमा युवा नभेटिने नागरिक समाजका अध्यक्ष तुलसी संग्रौला बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार दैनिक कम्तीमा १० जनाले राहादानी लिइरहेका छन् । आर्थिक वर्ष ०६९ र ७० मा ९ सय ५० जनाले जिल्लाबाटै तथा ४ हजार ५ सय ९४ जनाले काठमाडौंबाट राहदानी लिने गरी सिफारिस लिएका थिए । आव ०७० र ७१ मा १ हजार २ सय २५ जनाले जिल्लाबाट र २ हजार ५ हजार ७ सय ७६ जनाले काठमाडौंबाट राहदानी लिने गरी सिफारिस लिएका छन् ।
यस्तै यसवर्ष राहदानी लिने संख्या बढेर चालु आवको पुस मसान्तसम्ममा १ हजार जना बढीले जिल्लाबाट तथा ४ हजारभन्दा बढीले केन्द्रबाट राहदानी लिने गरी सिफारिस लिएका सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले बताए । यही तथ्यांकलाई आधार मान्ने हो भने पनि करिब ५० प्रतिशत तेह्रथुमवासीले राहादानी बनाइसकेका छन् ।
प्रतिक्रिया