अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित

south-africa-won-seriesडुर्बान । अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार राती सकिएको खेलमा ३ सय ७२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ४ विकेटले हराएको हो । दक्षिण अफ्रिकाले एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै दोस्रो उच्च स्कोरको लक्ष्य पूरा ग¥यो । यससँगै अस्ट्रेलियाविरुद्धको ५ खेलको एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले जितेको छ । दक्षिण अफ्रिकाले ४९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाएको थियो ।

दक्षिण अफ्रिकाको डुर्बानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पुरै ओभर नै खेल्दै ३ सय ७२ रनको लक्ष्य प्रस्तुत ग¥यो । अस्ट्रेलियाका लागि डेबिट वार्नरले १ सय १७ रनको शतकीय पारी खेले । उनले १ सय ७ बलमा १३ चौका र २ छक्का प्रहार गरे । कप्तान स्टिभन स्मिथले पनि १ सय ८ रनको शतकीय योगदान दिए । १ सय ७ बलको सामाना गरेका स्मिथको इनिङमा ९ चौका र १ छक्का समावेश थियो । आरोन फिन्चले ३४ बलमा ३ चौका र ४ छक्काको मद्दतले ५३ रन बनाए । ट्रेबिस हेडले ३५ र जर्ज बेलीले २८ रनको योगदान दिए । दक्षिण अफ्रिकाको बलिङमा डेल स्टेन र इमरान ताहिरले २–२ विकेट लिए । कागिसो रबडा र फेलुह्कवाओले १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले ४९ दशमलव २ ओभरमा मात्र ६ विकेट गुमाएर पूरा ग¥यो । दक्षिण अफ्रिकाले एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै दोस्रो उच्च स्कोरको लक्ष्य पूरा गर्ने क्रममा उत्कृष्ट ब्याटिङ ग¥यो । दक्षिण अफ्रिकाका डेबिड मिलरले अविजित १ सय १८ रनको शतकीय पारी खेले । उनले ७९ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै जित दिलाएका थिए । क्विन्टन डी ककले ७० रन जोडे । डी ककले ४९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए । हासिम अमलाले ४५ तथा कप्तान फाप डु प्लेसिसले ३३ रन बनाए । अस्ट्रेलियाका जोन हेस्टिंग्सले २ विकेट लिए ।

तेस्रो एकदिवसीय जितेसँगै दक्षिण अफ्रिकाले ५ एकदिवसीय सिरिज ३–० को अग्रता लिँदै आफ्नो पोल्टामा पारेको हो । अब २ टोलीबीच २ एकदिवसीय बाँकी छ । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रनको लक्ष्य पछ्याएर पूरा गर्ने पनि दक्षिण अफ्रिकाको नै नाममा छ । सन् २००६ मा अस्ट्रेलियाले प्रस्तुत गरेको ४ सय ३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले पूरा गरेको थियो । जसमा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ४ सय ३८ रन बनाएको थियो ।(एजेन्सी)

प्रतिक्रिया