मिरा राणाका दुईवटा एल्बम बजारमा

mira-ranaकाठमाडौं, २१ असोज । पुराना तथा सदाबहार गायिका मीरा राणाद्वारा स्वरवद्ध गीतहरूको संगालोका रूपमा दुईवटा गीति एल्बम सार्वजनिक भएको छ । ‘गीत’ र ‘श्री राम भनेर’ नामक दुईवटा गीति सिडी क्यासेट बुधबार बजारमा आएका हुन् ।

‘गीत’ मा ‘माया बढ्दै बढ्दै गयो’, ‘दिन सहेँ रात सहेँ’, ‘नशालु रात’, ‘स्वच्छ बनोस् तिम्रो मन’, ‘निद छैन आँखामा’, ‘कहाँ उडे मध्यरातमा’ र ‘सँगै जिउने’ शीर्षकका गीत राखिएको छ । यी गीत निश्प्रभ सजी, नवराज लम्साल, गोपाल योन्जन, रत्नशम्शेर थापा, ज्ञानेन्द्र गदाल र प्रमोद स्नेहीले रचना गरेका हुन । गीतमा न्ह्यू बज्राचार्य, गायिका राणा, दीपक जंगम र नारायण वलीले संगीत भरेका छन् ।

‘श्री राम भनेर’ शीर्षकमा रचिएको क्यासेटमा लक्ष्मण लोहनी, पुरुषोत्तम सापकोटा, सुभाषचन्द्र ढुंगेलले विभिन्न गीतको रचना गरेका छन् भने गायिका राणा, गणेश परियार र मनराजा नकर्मीले संगीत भरेका छन् । यहाँ बुधबार आयोजित कार्यक्रममा वरिष्ठ गीतकार नगेन्द्र थापा र कवि तुलसी दिवसले क्यासेटको विमोचन गर्दै गीत, संगीत तथा कलाको माध्यमबाट समाजलाई मनोरन्जनका साथै चेतना प्रदान गर्न सकिने विचार व्यक्त गरे । नेपाल नाट्य तथा संगीत प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले कला संस्कृतिको सम्मान गर्न सकेमा त्यस क्षेत्रको विकास हुने विचार व्यक्त गरे । कार्यक्रममा गायिका राणाले विभिन्न गीत प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया