काठमाडौं, १५ असोज । चलचित्रको मूल्यबारे अस्कर वाइल्ड भन्छन् ः ‘हरेक जीवित सौन्दर्यको निर्माण कुनै न कुनै ट्रयाजेडीले निर्माण गरेको हुन्छ ।’ सहरमा रिलिज फिल्म ‘सफर’माथि विमर्श गर्नुअघि वाइल्डको यो पंक्तिलाई व्याख्या गर्नु जरुरी छ । उनको यो ‘डक्ट्रिन’अनुसार हलिउडको सौन्दर्य निर्माण सिकारी युगको बन्दुक हिंसादेखि सुरु भएको हो र दोस्रो विश्वयुद्धको पीडा बिर्साउन हलिउडले ‘फेन्टासी’ फिल्म बनायो ।
आज पनि बन्दुक नियन्त्रण गर्न अमेरिकी संसद् असक्षम छ । आज पनि द न्यूयोर्क टाइम्समा माथिपट्टि बन्दुकको विज्ञापन छापेर, तलपट्टि बन्दुकद्वारा नागरिक मारिएका समाचार छापिन्छन् । आज पनि, हलिउडको पटकथा बन्दुक र केटीकै नियन्त्रणमै हुन्छ । हलिउड सभ्यता यसरी सुरु भएको र त्यसले न्यारेटिभमा खास प्रभाव पार्न सक्यो ।
तर, पछिल्लो छिमलका नेपाली निर्देशक न्यारेटिभ सभ्यताको अध्ययन नगरिकन कथा वाचन गर्दैछन् । यस्तो समस्या डायस्पोरा र काठमाडौं केन्द्रित फिल्ममेकरमा ज्यादा छ । जो, फिल्मलाई सामाजिक र साहित्यिक क्राफ्ट ठान्दैनन्, बरु सतही कथा भन्न रुचि राख्छन् । फिल्मकै व्याकरण प्रकृतिविरुद्धको यो सोचाइले अन्ततः नेपाली दृश्यभाषामा थ्रेट खडा गरेको छ । अर्थात, आवरण त हुन्छ, गुदी हुँदैन । गुदी भनेको औपन्यासिकता र त्यसको संरचना हो ।
सफरको चर्चा यहाँ किन गरियो भने, यो फिल्म अमेरिकी भूगोलमा बसेर भनिएको नेपाली समुदायको कथा हो । माथि गरिएको विमर्श सफरको हकमा पूर्णतः लागू हुन्छ । नेपाली फिल्म, हिन्दी शीर्षक र अमेरिकी भूगोल, यी विशेषता सफरका आवरण हुन् । फिल्मको समीक्षा सुरु गर्नुअघि यसको संक्षिप्त ‘सिनोप्सिस’ चर्चा गर्नु यहाँ जरुरी हुन्छ ।
अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थी मनन सापकोटा, शिविर पोखरेल, सञ्जय गुप्ता र नुरजा श्रेष्ठ वरपर कथा घुमेको छ । अमेरिकामै रहेर केही गर्न चाहने मनन, लक्ष्य नभएको सञ्जय र नेपाल फर्किन चाहने शिविर ७ दिन लामो सडक यात्रामा निस्कन्छन् । फिल्म अघि बढ्दै जाँदा यी तीनको जीवनमा उतारचढाव आउँछन्, प्रेम, भविष्य र जीवनका । यी कुरा थाहा पाउन फिल्म हेर्नुपर्छ ।
फिल्मसँग कन्ट्रोलिङ आइडिया छैन । यसो हुनुमा लेख्य संरचनामा गरिएको अल्छी हो । समीक्षक सफरलाई फिल्मभन्दा ज्यादा सोचको रूपमा परिभाषित गर्न रुचि राख्छ । निर्देशकले कथा वाचनभन्दा संवादमार्फत सोच लाद्ने प्रयत्न गरेका छन् । एउटा व्यक्तिको सोचलाई अर्कोले मान्नुपर्छ भन्ने जरुरी छैन । फिल्मको युनिभर्सल सत्य के हो भने फिल्म दृश्यभाषा हो । पात्रहरू परिवर्तन, अध्यात्म, भविष्य र राजनीतिका आदर्श कुरा गर्छन् तर, तीसँग दर्शकीय भावनाको साइनो हुँदैन अर्थात सफर निर्देशकीय दृष्टिकोणविनाको उत्पादन हो ।
द्वन्द्व कमजोर छ । मुख्य लक्ष्य स्थापित नभएपछि फिल्म अन्योल बनेको छ । मुख्य पात्र कुराकानीमा जति गम्भिर देख्छिन्, उति जीवनमा द्वन्द्व भेटिँदैन । पात्र, उनीहरूले भोगको समाज, परिस्थितिजन्य दृश्य मनोविज्ञान निर्माणमा भन्दा अमेरिकी राष्ट्रिय निकुञ्ज, सडक, पठार, गगनचुम्बी भवन, नेभाडाको लाइट इफेक्ट र ल्यान्डस्केप खिच्न प्रयत्न गरिएको जसले सेटिङ स्थापना कमजोर छ । सेटिङ स्थापनामा भौतिकताभन्दा मनोविज्ञान महत्वपूर्ण हुन्छ । अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय र विद्यार्थीले जीजिविषासँग गरेको संघर्ष चित्रण परिवेश स्थापनाको पूर्वसर्त थियो ।
फिल्म कानको लागि होइन, आँखाको लागि हो भन्ने नर्सरी व्याकरणलाई सफरले अस्वीकार गरेको छ । सटैपिच्छेका मौखिक डायलगले फिल्म ‘भर्बल न्यारेटिभ’ हो भन्ने उल्टो गंगा बगाउन खोजिएको छ । पात्रहरू बोल्छन् तर संघर्ष गर्दैनन् । यसो हुनुमा सुरुमै चर्चा गरिएजस्तो हलिउड अर्थात अमेरिकन ड्रिम्सको आवरण कपी गर्नाले हो । हामी जैविक (अग्र्यानिक) फिल्मको जमानामा छौँ ।
दृश्य सम्पादकको रूपमा निर्देशकले प्रशंसनीय काम गरेका छन् । यस फिल्मको सबैभन्दा राम्रो पक्ष मानवीय ‘नुसेन्स’भित्र भन्न खोजिएको कथा हो जसलाई सतही नै सही, दर्शकले इन्जोय गर्न सक्छन् । सञ्जय गुप्ता र उनकी लभ इन्ट्रेस्टबीचको सम्बन्ध विकास अर्को राम्रो कार्य हो । यी २ बीचको उतारचढावले दर्शकलाई इन्गेज तुल्याउँछ र इमोसन पनि साट्छन् । संवादमा यथार्थ पोतिएको छ तर, यसलाई भिजुअल
न्यारेटिभमा प्रस्तुति गर्न नसक्नु निर्देशकीय गल्ती हो । निर्देशक रेडियो ड्रामाकै ह्याङओभरमा बसेको देखिन्छ ।
सफर थ्री एक्टको आधारभूत फिक्सन संरचनामै छैन । नाट्य तत्व ठीकठाक लाग्छ । छायांकन र पाश्र्वध्वनी फिल्मका सकारात्मक पक्ष हुन् । तर, फिल्मको आत्मा मानिने व्याकरण पछ्याउनमै फिल्म चुकेको छ । (मेरो सिनेमा)
प्रतिक्रिया