काठमाडौं म्याराथनमा भूमि र कान्छीलाई उपाधि

ktm_marathanकाठमाडौं, ९ असोज । नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी कान्छीमाया कोजुले १०औँ काठमाडौं म्याराथनको उपाधि जितेका छन् । भूमि पुरुष तथा कान्छी महिलाको फुल म्याराथन (४२.१९५ किलोमिटर) मा आ–आफ्नो प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि जित्न सफल भएका हुन् ।

त्रिपरेश्वरस्थित दशरथ रंगशालाको कवर्डहलमा शनिबार म्याराथनमा भूमिले नेपाली भूमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्ने क्रममा निर्धारित दूरी २ घन्टा २० मिनेट ४४ सेकेन्डमा पूरा गरे । यसअघि नेपालमा भएको कुनै पनि म्याराथनमा नेपाली खेलाडीले उक्त समयमा दौड पूरा गर्न सकेका थिएनन् । पुरुष म्याराथनको राष्ट्रिय कीर्तिमान वैकुण्ठ मानन्धरको नाममा छ । उनले भारतमा भएको तेस्रो दक्षिण एसियाली खेलकुद (साफ) मा २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए । यो कीर्तिमानलाई अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।

भूमिको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं रोड रनर्स क्लब अल्मुनाइका सल्लाहकार एवं स्प्रिन्टमा सहभागी हुने पहिलो नेपाली ओलम्पियन रघुराज वन्त र काठमाडौं म्याराथनका मुख्य योजनाकार निलेन्द्रराज श्रेष्ठले बोनस स्वरूप छुट्टै १ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे । नेपाल आर्मीका कृष्ण बस्नेत (२ घन्टा २१ मिनेट ४६ सेकेन्ड) दोस्रो तथा राजन खत्रीले २ घन्टा २९ मिनेट २२ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए ।

यता महिलातर्फ कान्छीमाया कोजुले निर्धारित दूरी २ घन्टा ५५ मिनेट ५७ सेकेन्ड समयमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । कान्छीले लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी स्वरूपा खड्काले सिकागो म्याराथन–२०१३ मा बनाएको २ घन्टा ५७ मिनेट १० सेकेन्डको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएकी हुन् । स्वरूपाले २०१४ मा भएको इन्चोन एसियाड र २०१६ मा भारतमा भएको १२औँ सागमा पनि नेपालबाट प्रतिनिधित्व गरेसकेकी छन् । राष्ट्रिय कीर्तिमानवापत कान्छीलाई रोड रनर्स अल्मुनाइले छुट्टै ५० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । आर्मीका सरिता वासी (३ घन्टा १९ मिनेट ५२ सेकेन्ड) दोस्रो तथा लालकुमारी घर्ती (३ घन्टा ४४ मिनेट १४ सेकेन्ड) तेस्रो स्थानमा रहे । म्याराथन विजेताले ५० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार पाए । चौथोदेखि दसौँ स्थानमा दौड सकाउनेलाई क्रमशः ७, ६, ५, ४, ३, २ र १ हजार प्राप्त गरे ।

हाफ म्याराथन (२१.०९७५ किलोमिटर) मा आर्मीको वर्चस्व रह्यो । पुरुष÷महिला दुवैमा आर्मीका खेलाडीले शीर्ष ३ स्थानमाथि कब्जा जमाए । पुरुषमा हरिकुमार रिमाल पहिलो भए । उनले निर्धारित दूरी १ घन्टा ०८ मिनेट ४७ सेकेन्डमा सिध्याए । ज्ञानप्रसाद भट्टराई (१ घन्टा ९ मिनेट २८.९५ सेकेन्ड) दोस्रो तथा लालबहादुर थापा (१ घन्टा १० मिनेट ३६ सेकेन्ड) तेस्रो बने ।

त्यस्तै महिलामा १ घण्टा २७ मिनेट १९ सेकेन्ड समय खर्चदै दौड पूरा गरेकी सानुमाया कार्की पहिलो भइन् । पुष्पा भण्डारी (१ घन्टा ३२ मिनेट २३ सेकेन्ड) दोस्रो तथा विन्द्रा देशार श्रेष्ठ (१ घन्टा ३४ मिनेट ४० सेकेन्ड) तेस्रो भइन् । हाफ म्याराथनमा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः २० हजार, १३ हजार र ७ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । पुरुष ५ किलोमिटर खुला दौडमा रामजी बस्नेत पहिलो भए । उनले १९ मिनेट ०३.२७ सेकेन्ड समय खर्चे । टीकाराम कट्वाल दोस्रो तथा छत्र दाहाल तेस्रो भए । खेलाडीत्रय आर्मीका हुन् । महिलामा आर्मीकी सरस्वती भट्टराई २२ मिनेट ३५ दशमलव २४ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । एपीएफकी फूलमती राना दोस्रो तथा काठमाडौंकी सन्तोषी श्रेष्ठ तेस्रो भइन् । उनीहरूले क्रमश १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार हात पार्ने छन् ।

स्कुलतर्फ ५ किलोमिटर छात्र दौडमा अजितकुमार यादव पहिलो, राजेन्द्र तामाङ दोस्रो तथा जगत नेपाली तेस्रो भए । छात्रामा हुमी बुढा मगर, संगीता खड्का र शर्मिला क्षेत्री क्रमश शीर्ष देखि तेस्रो स्थानमा रहिन् । उनीहरूले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार जिते । कुल पुरस्कार राशी ३ लाख ८६ हजार रहेको प्रतियोगिताको म्याराथनमा ३१ पुरुष र ७ महिला तथा हाफ म्याराथनमा ६६ पुरुष र १७ महिला खेलाडी सहभागी थिए । ५ किलोमिटरको खुलामा १ हजार २ सय ८५ तथा स्कुलमा १ हजार ४ सय २८ खेलाडीले भाग लिएको आयोजकले जनाएको छ ।

दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः रंगशालामै आएर सकिएको थियो ।

प्रतिक्रिया