बिजुली बत्ती बलेपछि गाउँमा खुसीयाली

खोटाङ, ८ जेठ । आफ्नो गाउँमा बिजुली बत्ती बलेपछि जिल्लाको दक्षिणी गाविस देवीस्थानका स्थानीय उपभोक्ता हर्षित भएका छन् । जिल्ला विकास समितिको आर्थिक सहयोग तथा उपभोक्ताको श्रमदानमा स्थानीय बुवाँखोलाबाट उत्पादन गरिएको लघुजल विद्युत आयोजनाबाट घरघरमा बिजुली बत्ती बलेपछि देवीस्थान गाविसका स्थानीय उपभोक्ता हर्षित भएका हुन् ।

२६ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सञ्चालन भएपछि देवीस्थान गाविसका ३ सय ५४ घरधुरी उपभोक्ता लाभान्वित बनेका छन् । जिविसको ८० र उपभोक्ताको २० प्रतिशतगरी कुल २ करोड २७ लाख ८४ हजारको लागतमा लघुजलविद्युत् आयोजना सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताए ।

जलविद्युत् आयोजना सञ्चालनमा आएपछि बत्ती बाल्नुका साथै टिभी, इमेल÷इन्टरनेट, फोटोकपी सेवा, राइसकुकरलगायत विद्युतीय उपकरण प्रयोग गर्न थालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिए । केही दिनअघिदेखि मात्र परीक्षण प्रसारण सुरु गरिएको जलविद्युत् आयोजना केही दिनभित्रमा चौबीसै घन्टा प्रसारण गरिने जनाइएको छ ।

जलविद्युत् आयोजना सञ्चालनमा आउनुअघि उक्त गाविसमा टुकी तथा धिप्री बालेर पढ्नुका साथै बस्नुपर्ने अवस्था थियो । जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सबैभन्दा बढी विद्यार्थी तथा गृहिणीलाई सहज भएको उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया