काठमाडौं, ८ जेठ । अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ ? चाहिँदैन । मन र आँट भएमा सुनेकै पनि विद्यावारिधि पूरा गर्न सकिँदो रहेछ । इच्छा र जाँगर भए आँखाले हेरेर भन्दा कानले सुनेर गर्ने उच्च अध्ययन सर्वोत्कृष्ट हुँदो रहेछ ।
दृष्टिविहीन २ महिलाले विद्यावारिधि पूरा गरी नयाँ इतिहासको रचना गरेका छन् । लक्ष्मी पोख्रेल र श्वेता सिंहले आफ्ना नामका अगाडि डा. थप गरी नाम अगाडि झुन्डिएको दृष्टिविहीन शब्द सदाका लागि अन्त्य गरिदिए ।
त्रिवि, मानविकी तथा समाजशास्त्र अध्ययन सस्थानबाट इतिहास विषयअन्तर्गत ‘देवघाटको धार्मिक तथा ऐतिहासिक महत्व’का विषयमा पोख्रेलले भर्खर विद्यावारिधिको प्रमाण लिएकी हुन् ।
यसैगरी, भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट ‘जेन्डर एन्ड मिडिया’ विषयमा सिंहले विद्यावारिधि प्राप्त गरिन् । आँट गरे के सकिँदैन, उनीहरू पथप्रदर्शक बने । ती २ विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन महिलाको रूपमा समेत नाम लेखाएका छन् ।
१३ र ९ वर्षीया छोरीकी आमा पोख्रेलले भनिन्, ‘अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिँदैन, सुनेर गर्न सकिन्छ । यसका लागि आफूमा आँट र सहयोग गर्ने सहृदयी मनहरू आवश्यक पर्छ ।’ बालकुमारी उमावि नारायणघाटबाट पोख्रेलले ०४६ सालमा एसएलसी उत्तीर्ण गरेकी थिइन् । यसैगरी, वीरेन्द्र बहुमुखी क्याम्पसबाट ०५५ सालमा इतिहास विषयमा स्नातकोत्तर तह पूरा गरेकी पोख्रेलले ०५७ देखि सोही क्याम्पसमा अस्थायी प्राध्यापनरत रहेकी छन् ।
पढ्ने क्रममा आइपरेका समस्या सम्झदै पोखरेलले भनिन्, ‘९ वर्ष अगाडि विद्यावारिधिका लागि शोध प्रस्ताव लिएर कीर्तिपुरस्थित डिनको कार्यालयमा आएँँ, तत्कालीन डिन शिशिर सुब्बालाई भेटेँ, उनले कुरा गर्न नै चाहेनन् ।’ ‘म कलंकीमा बसबाट झरेर यता ठोक्किँदै, उता ठोक्किँदै त्यहाँ पुगेकी थिएँ । डिन कार्यालय बाहिर निस्केर एक्लै रोएँ । फेरि उनको टेबलमा प्रस्ताव छाडेर आफन्तकहाँ गएँ । भोलिपल्ट घर फर्किएँ ।’ आफ्नो मनको वह पोख्रेलले यसरी पोखिन् ।
‘केही महिनापछि डिनको कार्यालयबाट फोन गयो, तपाईंको शोध प्रस्ताव पास भयो ।’ शोध पास त भयो, शोधनिर्देशक को प¥यो उनलाई थाहा भएन । काठमाडौं आएपछि थाहा पाइन इतिहास विभागका प्राडा कृष्णबहादुर थापा शोधनिर्देशक परेछन् । उनी अनामनगरमा बस्नेकुरा पनि थाहा पाइन् । उनले भनिन्, ‘त्यसपछि विषयसित सम्बन्धित कयौँ पुस्तक सहयोगीलाई पढ्न लगाउँदै सुनेँ । शोधकार्य पूरा गरेँ ।’ २०७१ साल २९ भदौमा डिनको कार्यालयले उनलाई विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।
‘आँखाले अध्ययन गरेजस्तो कहाँ सजिलो हुन्छ र सुन्ने काम । बिर्सन सकिन्छ,’ पोख्रेलले भनिन्, ‘अझै पनि केही गरुँ जस्तो लाग्छ । स्थायी प्राध्यापक पदमा नाम निकाल्न सकेँ भने मेरो जीवनमा विद्यावारिधि पूरा गरेँभन्दा ठूलो खुसी केही हुने छैन ।’ वाल्मीकि विद्यापीठमा प्राध्यापरत उनका पति नारायणप्रसाद तिमल्सिनाले पनि विद्यावारिधि गर्दै छन् ।
यसैगरी जन्मजात दृश्यविहीन अविवाहिता सिंहले ६ वर्षका उमेरमा अक्षर आरम्भ गरेकी थिइन् । उनले भनिन् ‘दिदी र भाइले नपढेर बुबाको गाली खाँदा म पढ्न विद्यालय जान पाएँ भने गाली खाँदिनँ होला, यो कुरा सुटुक्क आमालाई सुनाएँ ।’
उनले भनिन्, ‘आमाले बुबालाई सुनाउनु भएछ । तत्काल बुबाले आफैँ बोकेर विद्यालय भर्ना गरिदिनुभयो ।’ काठमाडौं चाबहिलकी रैथाने सिंहको मस्तिष्क तीक्ष्ण रहेछ । ल्याबोरेटरी विद्यालय कीर्तिपुरबाट उनले प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरिन् ।
उनी भन्छिन्, ‘उच्च शिक्षाका लागि म दिल्ली विश्वविद्यालयमा गएँ । त्यहाँबाट स्नातकोत्तर र एमफिल पूरा गरेँ । सन् २०१२ मा जवाहरलाल विश्वविद्यालयबाट ‘जेन्डर र महिला’ विषयमा विद्यावारिधि पूरा गरेँ र हाल इन्दिरा गान्धी ओपन विश्वविद्यालयमा सहायक क्षेत्रीय निर्देशक पदमा कार्यरत छु ।’ जवाहर विश्वविद्यालयका नेपाली मूलका प्राडा महेन्द्र पी लामाले उनलाई शोध निर्देशन गरेका थिए । आफ्नी आमाको नाममा अक्षयकोष स्थापना गर्न नेपाल आएकी सिंहले अगाडि भनिन् ‘समाजले हामीलाई महिला र दृष्टिविहीन भन्छन्, केही गर्न नसक्ने भन्दछन् । यसो होइन, हामी केही गर्न सक्छौँ । दृष्टिविहीनहरू दृष्टि हुनेका लागि उदाहरणीय बन्नुपर्छ ।’
सिंहले आफ्नो सफलताका लागि आमाको योगदान उच्च रहेको सम्झिन् । आमा मलाई भन्ने गर्नुहुन्थ्यो ‘नानी म मरेको छैन, तिमीलाई पढ्ने इच्छा जति छ पढ, खर्च पु¥याउँछु ।’ तर, हालसालै आमा गुमाएकी सिंहले भक्कानिँदै अब आमाको सपना पूरा गर्छु भनिन् । उनले आफ्नो कमाइको अधिकांश भाग दृष्टिविहीनकै उच्च शिक्षाका लागि खर्च गर्छु भन्ने योजना सुनाइन् ।
सिंहले आफ्नो आम्दानीमध्ये १ लाख आमाका नाममा स्थापित कोषमा जम्मा गरिदिएकी छिन् । कोषले एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्ने दृष्टिविहीन महिलालाई सीप सिकाउन सहयोग गर्ने लक्ष्य राखेको छ ।
यसैबीच, नेपाल नेत्रहीन संघले आफ्नो २१औँ वार्षिक साधारणसभाका अवसरमा उनीहरूलाई शनिबार सम्मान गरिएको छ । कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारीले आगामी बजेटमा सामाजिक सुरक्षाको भत्तामा वृद्धि हुने जानकारी दिए । संघका अध्यक्ष रमेश पोखरेलले नेत्रहीनहरू सम्मानित र उत्पादनशील भएर समाजमा बाँच्न चाहने बताए । कार्यक्रममा संघका कार्यकारी सल्लाहकार नरबहादुर लिम्बूले नेत्रहीनको सशक्तीकरणमा संघले काम गरिरहेको जानकारी दिए ।
प्रतिक्रिया