काठमाडौं ४ जेठ । अकी जुवेन रावत र अदित सुवेदी तेस्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता तथा जेटिआईको यु–१२ ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोही स्पर्धामा आरभसम्राट हाडा, साम्पुहाङ राई, कुवेहाङ चेम्जोङ, आदित्य सुवेदी, निश्चल अधिकारी तथा मिलन जोशी पनि क्वाटरफाइनलमा पुग्न सपल भए । अकीले इभ्याक जोशीलाई ६–० र ६–१, अदितले रोहन चौधरीलाई ६–० र ६–०, आरभले चिराग तिम्सिनालाई ६–० र ६–३ तथा साम्पुहाङले सुदेन गिरीलाई ६–४, ४–६ र ६–१ को सेटमा पराजित गरे ।
त्यस्तै कुवेहाङले आदित्य अग्रवाललाई ६–० र ६–१, आदित्यले गौरव डाल्मियालाई ६–० र ६–०, निश्चलले प्रसिद्ध मोक्तानलाई ६–० र ६–० तथा मिलनले साक्षत शाहलाई ६–१ र ६–० को सोझो सेटमा हराए । जुनियर लनटेनिस खेलाडीहरूको अभिभावक मिलेर आयोजना गरेको प्रतियोगिताको यु–८ ब्वाइज सिंगल्समा निभास रावल, मन्थन जोशी, शिभेन महर्जन, राजु प्रधान, सक्षमविक्रम शाह र निशाद जोशी विजयी भए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यु–९ गल्र्स सिंगल्समा अमिना कायामुराले सफलता हात पार्दै अर्को चरणमा प्रवेश गरिन् । सोही स्पर्धाको ब्वाइजमा प्रसिद्ध बस्नेत, मन्थन जोशी र प्रमोद बुढाथोकीले जित हात पारे । प्रतियोगिताको अखिल नेपाल लनटेनिस संघका उपाध्यक्ष दिनेश तुलाधरले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १ सय ७५ खेलाडीले १४ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजकका अध्यक्ष अजय विष्टले जनाएका छन् ।
प्रतिक्रिया