काठमाडौं, ३ जेठ । हिमालयन एक्सपिडिसनको आयोजनामा विश्वको सबैभन्दा बढी उचाइमा हुने तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १४औँ संस्करण हुने भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत आयोजकले १६ जेठमा हुने म्याराथनको सम्पूर्ण तयारी पूरा भएकोसमेत जनाएको छ । उक्त प्रतियोगितामा ३ इभेन्ट समावेश गरिएको छ । जसअन्तर्गत ६० किलोमिटर खुलातर्फ अल्ट्रा म्याराथन हुनेछ ।
त्यस्तै ४२ दशमलव १९५ किलोमिटरको म्याराथनतर्फ भने पुरुषको खुला स्पर्धा, खुला विदेशी र खुला महिला तथा हाफ म्याराथन (२१ किमी) को खुला स्पर्धा समावेश गरिएको छ । म्याराथनमा नेपालका कुल २० धावकले प्रतिस्पर्धा गर्नेछन् । म्याराथनमा नेपालसहित अमेरिका, जर्मनी, क्यानडा, वेल्जियम, इजरायल, अस्ट्रेलिया, सिंगापुर, जापान, चिली, रुस, चीन, भारतलगायत विभिन्न २१ राष्ट्रका १ सय २९ धावकले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाइला टेकेको सम्झनामा विगत ११ वर्षदेखि २९ मेमा तेन्जिङ हिलारी एभरेस्ट म्याराथन हुँदै आएको छ । आयोजक हिमालयन एक्सपिडिसनका अध्यक्ष विक्रम पाण्डेयले ब्रिटेन र नेपालको २ सय वर्षको दौतसम्बन्धको अवसरमा हुन लागेको म्याराथनमा नेपाली धावकको खेल विकासका लागि सबै भन्दा उपयुक्त माध्यम भएको बताए ।
म्याराथनमा गिनिज वल्र्ड रेकर्ड होल्डर पर्भनेइज मोइदी, ब्लेड रनरको नामले परिचित एक खुट्टा नभएका सिंगापुरका धावक शरिफ अब्दुल्लाह, चीनका टिभी प्रस्तोतासमेत रहेका पहिलो टिभी प्रस्तोता अल्ट्राधावक गुवान यादी र ७४ वर्षीय अस्ट्रियाका नागरिक हेल्मेट लिन्जबिच्लरलगायत चर्चित धावकहरूलेसमेत सहभागिता जनाउनेछन् । मोइदी १ हजार वटा आधिकारिक म्याराथन पूरा गर्ने विश्वकै पहिलो महिला बन्ने तरखरमा छिन् । २ पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल मोइदीले ९२०औँ प्रतियोगिताका रूपमा एभरेस्ट म्याराथनमा सहभागिता जनाउँदै छिन् ।
म्याराथन सगरमाथा आधार शिविरको ५ हजार ३ सय ६४ मिटर उचाइबाट सुरु भई ३ हजार ४ सय ४० मिटरमा रहेको नाम्चे बजारमा आएर समापन हुनेछ । म्याराथन वेस क्याम्पको गोरक्क्ष, लुबुचे, थुक्ला, बिब्री, दिङबोचे, फयाङबोचे,थ्याङबोचे, लुबिसासा, कान्जिम्मा र छोरटर्न हुदै नाम्चे बजारमा आएर समापन हुनेछ । ६० किलो मिटर एभरेस्ट एक्सट्रिम पनि म्याराथन सुरु हुने बेस क्याम्पबाट सुरु हुनेछ ।
म्याराथनको खुलातर्फको विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । खुला विदेशी र खुला महिलातर्फको स्पर्धाको विजेताले ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । अल्ट्रा म्याराथनतर्फको विजेताले १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । खुलातर्फको हाफ म्याराथनको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया