उपमहासचिव बने युग पाठक

yog pathakaकाठमाडौं, २८ वैशाख । अफ्रिकी–एसियाली–ल्याटिन अमेरिकी लेखक संघको उपमहासचिवमा नेपाली लेखक युग पाठक निर्वाचित भएका छन् । मे ४ देखि ७ सम्म अफ्रिकी–एसियाली लेखक संघको सातौँ सम्मेलनबाट उनी निर्वाचित भएका हुन् । उपमहासचिव पदमा निर्वाचित भएपछि लेखक पाठकले एसिया क्षेत्रमा संघको गतिविधि बढाउने र साहित्यको माध्यमबाट समाजका उत्पीडित र गरिब जनताको पक्षमा काम गरिरहने प्रतिबद्धता जनाएका छन् ।

इजिप्टको हुर्गादास्थित अल गुनामा आयोजित सातौँ सम्मेलनदेखि ल्याटिन अमेरिकी देशहरूसमेत सदस्य बन्ने भएपछि संघको नाम ‘अफ्रिकी–एसियाली–ल्याटिन अमेरिकी लेखक संघ’ भएको हो । इजिप्टका संस्कृतिमन्त्री हेल्मी नामनामले उद्घाटन गरेको सम्मेलनबाट सेनेगलका अब्दुल्लाह अध्यक्ष पदमा निर्वाचित भएका छन् भने इजिप्टका महामद साल्मावी महासचिव पदमा दोस्रोपटक चुनिएका छन् ।

सम्मेलनमा लेखकहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा जारी आन्तरिक द्वन्द्वहरूलाई शान्तिपूर्ण ढंगबाट र जनताको हक स्थापित हुनेगरी सम्बोधन गर्न भूमिका खेल्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै सबै देशका सरकार र विद्रोही पक्षलाई शान्तिपूर्ण वार्ताको माध्यमले राजनीतिक समस्या समाधान गर्न र सबै भाषा, धर्म, समुदायहरूको हक स्थापित गर्नसमेत लेखहरूले अपिल गरेका छन् ।

लामो समयपछि बन्द रही पुनः प्रकाशनमा आएको लोटस म्यागेजिनको पहिलो अंकसमेत सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया