कविता : कालो पट्टी

lok lama copyसाइँला गोलेको थाप्लोलाई
कुलो बनाएर
बगिरहन्छ अमृतधारा
तर किन
पलपलमा मरिरहेछ
उनै साइँला गोले ?
माइला माझीको छातीमा
लहलहाइरहन्छ फसल
तर किन
भोकले छट्पटाइरहेछ
उनैको जीवन ?
कयौँ साइँला गोले र माइला माझीले
रंग्याएको मेची–महाकालीलाई
कुन धमिराले खाइरहेछ कुटुकुटु ?
अब
यसको हिसाब खोज्नुपर्छ
साइँला गोले र माइला माझीहरूले ।
मजदुरको पसिनाले कोरिएको
यो देशको खाकामा
कुन मालिकले फेरिरहेछ पिसाब ?
र, मेटाइरहेछ खाका ?
अब
पत्ता लगाउनु छ मजदुरहरूले ।
हरेक घरको धुरीबाट
अझै पनि निस्किरहन्छ
शासकको अमिलो डकार
हरेक घरको खोर र गोठबाट
अझै पनि गन्हाउँछ
ब्वाँसाहरूको ¥याल ।
ओ साइँला गोलेहरू !
ओ माइला माझीहरू !
ओ साइँली–माइली !
ओ जेठी–कान्छी !
बाँध हातहातमा कालो पट्टी

नाघ घरको सँघार ।

प्रतिक्रिया