एजेन्सी
सियान, २३ वैशाख । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीनका वरिष्ठ बौद्ध भिक्षु एवं बौद्ध दर्शनसम्बन्धी दार्शनिक सुआन चाङको मूर्ति राखिने भएको छ ।
सुआन चाङ् चीनका ठूला बौद्ध भिक्षु थिए र उनी सयौँ वर्ष पहिले नेपालको लुम्बिनीमा पुगेर गौतम बुद्धको बारेमा अध्ययन गरेका थिएइ । उनले नै नेपालबाट फर्किएपछि चीनमा बौद्ध धर्मको प्रचार र विस्तार गरेको विश्वास गरिन्छ ।
चीनको हेनानमा सन् ६०२ मा जन्मिएका चाङ् चीनमा बौद्ध धर्मदर्शनका ठूला विद्वान थिए । उनले बौद्ध धर्मदर्शनको अध्ययन र खोजका क्रममा नेपाल र भारतका विभिन्न क्षेत्रको भ्रमण गरेका थिए । उनको यो योगदानको कदरस्वरूप नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर उनको मूर्ति स्थापना गरिने भएको जानकारी चीनको युनिभर्सिटी अफ सियानका प्राध्यापक डा.राजीवकुमार झाले दिए ।
नेपालले आगामी जेठ ८ गते परेको गौतम बुद्धको जन्मजयन्तीको अवसरलाई जेठ ६ देखि ८ गतेसम्म ३ दिन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका रूपमा मनाउने तयारी गरिरहेको छ । उनले भने, ‘यस विषयमा प्रधानममन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निर्णय भइसकेको छ र उक्त मूर्तिको स्थापनाका लागि चीन सरकारका तर्फबाट पनि उच्च पदस्थ अधिकारीको सहभागिता हुनसक्नेछ ।’
चिनियाँ सहर सियान र नेपालको काठमाडौं भगिनी सहर (सिस्टर सिटी) हुन् र प्राडा झा उक्त सहरका सद्भावना दूत पनि हुन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा उनलाई दूतमा नियुक्त गरिएको थियो ।
उक्त बौद्ध सम्मेलनमा चीनको सान्सी प्रान्तका उपगभर्नर यायो यिङ्लियान नेपाल जाने र सोही अवसरमा लुम्बिनीमा सुआन चाङको मूर्ति स्थापना गरिने कार्यक्रम तय भएको जानकारी डा. झाले दिए ।
यस सम्मेलनमा चीनबाट बौद्ध भिक्षु, बौद्धधर्म र दर्शनक विशिष्ठ व्यक्तित्व र सरकारबाट पनि उच्चस्तरीय प्रतिनिधित्वका लागि डा. झाले सान्सी प्रान्तका साथै सियान नगर र अन्य छिमेकी प्रान्तमा स्थानीय पत्रपत्रिकामार्फत प्रचारप्रसार गरेका छन् । उनले भने, ‘चीन सरकारका तर्फबाट उच्चस्तरीय प्रतिनिधित्व हुने भएको छ तर अहिले नै नाम सार्वजनिक गर्न भने मिल्दैन ।’
प्रतिक्रिया