जिल्ला अस्पताल डोटीको हालत दिनप्रतिदिन खस्किँदै गएको छ । डोटीका ५० गाविसका जनताले उपचार सेवा लिने अस्पतालको स्थिति दयनीय बन्दा बिरामी मर्कामा परेका छन् । तीनजनाको दरबन्दी रहेको अस्पतालमा हाल एकजना डाक्टरबाट मात्रै सेवा उपलब्ध भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा अमित झाले बताए । झाले दैनिकजसो ४० देखि ५० जनासम्म ओपिडीमा बिरामी आउने गरेको र उनीहरूका समस्यालाई व्यवस्थित तवरले हेर्न नसकिएको स्वीकार गरे ।
गर्मी मौसम बढ्दै जाँदा जिल्ला अस्पताल डोटीमा जिल्लाका दूरदराजका गाविसबाट बिरामी आउने गरेका छन् । बुधबार मात्रै पेटसम्बन्धी समस्याले भिडियो एक्स–रे गर्न आएका चवरा चौताराका चक्र बम रित्तै हात पर्किनुुप¥यो । उनी मात्रै होइन उनीसँग आएको छोरा भीम र छोरी इतिशासमेत विना स्वास्थ्य जाँच फर्किनुप¥यो । भिडियो एक्सरे गर्ने डा जितेन्द्र यादवको सरुवा भएपछि जिल्ला अस्पताल डोटीमा बिरामीलाई सास्ती भएको छ । दुई तीन दिन पैदल दूरी हिँडेर आउने बिरामीले अस्पतालमा उपचार सेवा नपाउँदा निराश भई फर्किने गरेको सिलगढीमा व्यापार गर्दै आएका लोकबहादुर बोहराले बताए ।
बोहराले जिल्ला अस्पतालको लापरबाहीले त्यहाँ धेरै घटनासमेत हुने गरेको बताएका छन् । बिरामी शय्यामा छाडेर डाक्टर खोज्न जाँदासम्म यता बिरामीको हालत नाजुक भइसक्ने बोहराको भनाइ छ । यति मात्रै होइन डाक्टरको अभावले अस्पतालले दिन सक्ने सेवासमेत प्रभावित भएको छ ।
डोटीका ग्रामीण भेगमा बस्ने अधिकांश जनता गरिबीको रेखामुनि बाँच्न बाध्य छन् । ‘यहाँका बिरामीको पहिले आउने थलो नै स्वास्थ्य चौकी र त्यहाँ सम्भव नभए जिल्ला अस्पताल नै हो तर यहाँको अवस्था निराशाजनक छ’, सिलगढीका स्थानीयवासी गोविन्द कामीले बताए ।
अस्पतालमा खानेपानीको निकै समस्या रहेको छ । अस्पताल र जिल्लावासीले प्रयोग गर्ने खानेपानीको मुहान एउटै भएका कारण अस्पतालले पानीको निकै समस्या बेहोनुपरेको छ । ‘दुई हजार लिटरको चारवटा ट्याङ्की रहेको भएपनि उक्त ट्याङ्की भरिएको कुनै दिन हुँदैन र भरिए पनि पानी पुग्दैन’, स्थानीयवासी श्रीचन्द्र श्रेष्ठले भने । उता अस्पताल विकास समितिका अध्यक्ष शंकर मडैले यस वर्ष केही पानी ट्याङ्की बढाउने लक्ष्य लिइएको बताए । उनका अनुसार पुरानो संरचनालाई तोडेर खानेपानीको नयाँ संरचना निर्माण गर्न अस्पताल समिति लागिपरेको छ । जिल्ला अस्पतालमा रहेको प्रसूति गृहमा पानीको अभावका कारण ठूलो समस्या देखापरेको छ ।
अस्पतालमा ब्लड बैंकको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । ब्लड बैंक सञ्चालनको जिम्मा पाएको रेडक्रसले महिनामा रगतको आवश्यकता भएका बिरामी एकदमै थोरै आउने गरेका कारण जगेडा रगत राख्ने नगरेको बताएको छ । ‘भनेका बेला रक्तदातासँग कुरा गर्छौं र रगतको आपूर्ति गराउँछौँ’, ब्लड बैंक सञ्चालक पुरन खड्काले भने । तर बिरामी लिएर अस्पतालसम्म आएका स्थानीयवासी तेज डुम्रेले भने आफ्नो भाइका लागि रगत नपाउँदा धेरै सास्ती भोग्नुपरेको दुःखेसो पोखे । उनले भने, ‘पहिला त नेपाली सेनाले ब्लड डोनेसन गथ्र्यो, अहिले खै किन हो अस्पतालमा त्यो सेवा पनि छैन, म मात्रै होइन मजस्ता ग्रामीण भेगबाट आउने बिरामीमाथि अस्पतालले सिधैँ खेलबाड गरेको छ ।’ गगुडा गाविसका उत्तम शाहीले अस्पतालमा पटकपटक आउँदा यो समस्या झेलेका छन् ।
जिल्ला अस्पताल डोटीमा जनस्वास्थ्य प्रमुख रीता भण्डारीलाई भेट्न दिनबार जुराउनुपर्ने यहाँका बासिन्दाको भनाइ छ । किनभने उनी अस्पतालमा विरलै मात्र भेटिन्छन् । यसबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले भने, ‘मेरो अवधि सकिएर म काठमाडौं गएको थिएँ । एक महिनापछि फर्केँ । यता जनस्वास्थ्य प्रमुख हुनुहुन्न ।’ प्रशासन चलाउने प्रमुख नै अस्पतालमा छिटफुट मात्र उपस्थित हुने गरेका कारण पनि जिल्ला अस्पताल डोटीले निकै समस्या खेप्नुपरेको स्थानीयवासीको भनाइ छ ।
डोटी जिल्लाका २७ गाविसमा रहेका स्वास्थ्य चौकीमा कार्यालय सहयोगी आवश्यक परेको भनी खोलिएको विज्ञापनमा मनपरी भएको रहस्य बाहिर आएको छ । विज्ञापन खोलेर औपचारिकता निभाएको भएपनि राजनीतिक दबाब र भनसुनका आधारमा कर्मचारी नियुक्त गरेको आरोप जिल्ला अस्पताल डोटीलाई लागेको छ । कसैको पनि पर्वाह नगरी गरेको मनपरीले यस्तो समस्या निम्तिएको अस्पताल विकास समितिका अध्यक्ष मडैले जानकारी दिए ।
उनले यो लज्जास्पद र घृणित कार्य भएको समेत बताए । आफूलाई यो विषयमा कुनै पनि जानकारी नभएको मडैको भनाइ रहेको छ । उनले भने, ‘पुराना कार्यरत कर्मचारीलाई हटाएर नयाँ राख्न खोज्नु कतिको सान्दर्भिक हो भन्ने मेरो प्रश्न हो ?’
मनपरी नियुक्ति भयो भनेर अहिलेसम्म छपाली, खातीवडा, काडामाण्डौ, बनलेक, घण्टेश्वर, निरौलीलगायत गाविसमा समेत स्थानीय बासिन्दाले नियुक्त भएर गएका कार्यालय सहयोगीलाई हाजिर हुन दिएका छैनन् । अहिले डोटी जिल्ला प्रशासनमा यसै विषयमा उजुरीसमेत परेको बताइएको छ । बारपाटालगायतका गाविसबाट छानबिनको मागसमेत भएको छ । उता जनस्वास्थ्य प्रमुख भण्डारीले कार्यालयको नियुक्ति लोकसेवा आयोगकै विधि अनुसार भएको दाबी गरे । जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयलगायत प्रतिनिधिहरू सम्मिलित समितिले कर्मचारी छनोट गरेका कारण यो पूर्णतः कानुनसम्मत भएको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयमाथि लगाइएको अहिलेको आरोप निराधार रहेको र कसैले प्रमाण पेस गरे आफू कारबाही भोग्न तयार रहेको उनले बताए ।
प्रतिक्रिया