खोटाङमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

खोटाङ, १५ वैशाख । खोटाङमा हुने प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी जेठ महिनाको अन्तिम साता हुने भएको छ । खोटाङ सितेरियो करातेको आयोजनामा २१ जेठदेखि २३ गतेसम्म प्रतियोगिता हुनेछ । सदरमुकाम दिक्तेलमा हुने प्रतियोगिताका लागि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

१८ समूहको सहभागिता रहने प्रतियोगितामा ४ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । कुल १९ स्वर्ण, १९ रजत र ३८ काँस्य पदकको लागि उक्त खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्वविद्यालय तथा भारत, भुटान, बंगलादेश र श्रीलंकाको सहभागिता रहने आयोजकले जनाएका छन् । प्रतियोगितामा पुरुष एकलकाता, महिला एकलकाता तथा पुरुष टिमकाता र महिला टिमकातामा ३–३ जनाको समूह रहने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि अनुमानित ३५ लाखको लागत लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमशः रु १ लाख, ७० हजार, ४० हजार र २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई समान १० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सघंका अध्यक्ष सञ्जयकुमार राईले बताए । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया