भूकम्पको दाबी भुक्तानी हुन सकेन

Beema-Samitiकाठमाडौं, १२ वैशाख । भूकम्प गएको एक वर्ष भइसक्दा पनि बिमा कम्पनीहरुले भूकम्पको कारण परेको दाबीको भुक्तानी गर्न सकेका छैनन् । बिमा कम्पनीहरुमा भुक्तानीका लागि १७ अर्बको दाबी परे पनि जम्मा १० अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन् । राष्ट्रिय बिमा समितिका अनुसार भूकम्पपछि पेस भएका निर्जीवन बिमा दाबीमा अहिलेसम्म १० अर्ब ८ करोड रुपैयाँ रकम भुक्तानी भइसकेको छ । भूकम्प पीडित बिमितहरुले १७ अर्ब ६५ करोड रुपैयाँ भुक्तानीका लागि दाबी गरेका थिए ।

बिमा कम्पनीमा भूकम्पले क्षति पु¥याएको भन्दै १७ हजार ६ सय ५८ वटा माग दाबी पेश भएका थिए । यसमध्ये ४ हजार ९ सय १० वटा दाबीलाई बिमा कम्पनीले अयोग्य ठहराएका थिए । यी दाबीहरु झुट्टा र बिमायोग्य नभएको भन्दै अनुचित ठहर भएका हुन् । १२ हजार ७ सय ७५ भुक्तानीयोग्य दाबीमध्ये एक वर्षको अवधिमा ११ हजार ३ सय ८४ वटा दाबीको भुक्तानी भइसकेको बिमा समितिले जानकारी दिएको छ । १७ वटा बिमा कम्पनीहले यतिको रकम भुक्तानी गरेका हुन् ।

संख्याका हिसाबले बिमा कम्पनीहरुले अहिलेसम्म झण्डै ९३ प्रतिशत दाबी भुक्तानी गरिसकेका छन् । अझै १३ सय वटा बिमा दाबी भुक्तानी भएका छैनन् । अहिले प्रायः धेरै रकम दाबी गरेका बिमितहरुको भुक्तानी दिन बाँकी छ । बिमा कम्पनीहरुले भूकम्पपछिको बिमा रकम भुक्तानीमा केही ढिलाई गरेका थिए । तर, बिमा समितिले दाबी भुक्तानीमा तीव्रता दिन कम्पनीहरुलाई दवाव दिएको थियो । बिमा समिति र बिमा कम्पनीहरु भूकम्पको दाबी भुक्तानी सन्तोषजनक भएको दाबी गर्छन् ‘बिमा कम्पनीहरुले अहिलेसम्म भूकम्पसँग सम्बन्धित जे–जति दाबी भुक्तानी दिएका छन्, त्यो सन्तोषजनक हो,’ बिमा समितिका निर्देशक श्रीमान कार्कीले भने ।

ठूलो दाबीको सबै रकम भुक्तानी भइनसकेको तर स–साना दाबी भने अधिकांश भुक्तानी भइसकेको उनले बताए । ‘पीडितहरुलाई बिमा कम्पनीले दाबी भुक्तानी दिन ढिलाई गरे भने उजुरी गर्नुहोस् भनेका थियौं,’ कार्कीले भने, ‘अहिलेसम्म खासै ठूलो संख्यामा त्यस्तो उजुरी आएको छैन ।’ विनाशकारी भूकम्पमा आफ्नो घर सम्पत्ति गुमाए पनि धेरैले बिमा कम्पनीबाट बिमा भुक्तानी लिएका छन् । यसबाट उनीहरुलाई जोखिमको व्यवस्थापन सहज भएको छ ।

प्रतिक्रिया