कवि विप्लवका कविता ‘कोलाज साँझ’मा

kabita kolaj copyकाठमाडौं, २८ चैत । उमेरले ५ दशक पार गरिसकेका कवि विप्लव प्रतीकले तन्नेरी ‘मुड’मा आफ्नो कविता प्रस्तुत गरेका छन् । ‘हार्वर्ड स्कुल’को सहयोगमा ‘गार्डेन थिएटर’ र ‘बुकाहोलिक्स’द्वारा संयुक्त आयोजित ‘कोलाज इभिनिङ’ को तेस्रो शृंखलामा प्रतीकले आफ्नो कविताहरू उत्साही ढंगबाट राखेका हुन् ।

रबिन डंगोलको सितार वादनसँग साढे २ दशकअघिदेखि लेखिएका दर्जन उनका कविता स्वयम्भूस्थित ‘ह्वाइट ¥याबिट रेष्टुराँ’मा सुनाइएको थियो । हरेक महिनाको अन्तिम शुक्रबार साँझ कवितासँगै संगीतलाई जोड्ने उद्देश्यले सुरु भएको कोलाज इभिनिङमा काठमाडौं विश्वविद्यालयबाट ‘एथ्नोम्युजिकोलोजी’ विषयमा स्नातकोत्तर गरिरहेका संगीतकर्मी डंगोलले २÷२ वटा शास्त्रीय नेवारी र आफ्नै मौलिक धुन प्रस्तुत गरेका थिए ।

चर्चित गीतकारसमेत रहेका प्रतीकले सितारको धुनपछि कविता मात्र सुनाएनन् बीचबीचमा टुक्का हान्दै साहित्य तथा संगीतपारखी दर्शक र स्रोतालाई मनोरञ्जन पनि दिइरहन्थे ।

‘यतिखेर, गौंथलीको बसाइँसराइ सम्झिँदै
म डबलीको डिलमा थुचुक्क बसेको छु,
अष्टमानको छोरोले ब्यांकसँग ऋण लिएर

पुरानो घर भत्कायो र सिसाले छोपिएको सपिङ सेन्टर बनायो’ (गौंथलीको गुँडबाट) हातमा ह्विस्कीको गिलाससहित प्रस्तुत प्रतीकले आफ्ना कवितामार्फत् घरी नोस्टाल्जिक बनाउँथे त घरी भावुक । कविताबाटै उनी घरीघरी मृत्यु सम्झाउँथे त घरी क्रान्तिको नाममा गरिएको युद्धपछिको समाजको दयनीय चित्र देखाउँथे । त्यसो त उनले प्रेमभावका कविता धेरै सुनाए । केही कवितामा उनले ‘वान्स मोर’ नै पाए । उनले हिन्दीमा ३ र अंग्रेजीमा लेखिएको १ कविता पनि सुनाउन पनि भ्याएका थिए ।

प्रतीकले पवन रेशमी र रंगीन पर्दा, माया, चर्चा, उपहार, आरनमा तिमी र म, चराको व्यथा, इच्छा, गौंथली, अन्तिम भेट, सम्झनाको सुरुङ र पूर्णिमाको अघिल्लो रात शीर्षकका नेपाली कवितासहित तोहफा, उस दोपहरकी याद र इक नज्म शीर्षकमा हिन्दी र ‘अ नाइट बिफोर फुल मुन’ शीर्षकमा एक अंग्रेजी कविता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया