गोरखा, २६ चैत । टिम्बर कर्पोरेसन नेपालले चाहिएजति काठ उपलब्ध गराउन नसक्दा प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर जीर्णोद्धारमा ढिलाइ भएको छ । मन्दिरको जीर्णोद्धार (पुनर्निर्माण) गत साउन महिनादेखि सुरु भए पनि अहिलेसम्म एकतला पनि निर्माण गर्न सकिएको छैन । २ वर्षभित्र मन्दिर निर्माण गरिसक्ने पूर्व योजना भए पनि काठको अभाव भएपछि जीर्णोद्धारमा ढिलाइ भएको हो ।
‘मन्दिर जीर्णोद्धार गर्न १ हजार १ सय क्युफिट काठ चाहिन्छ,’ मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने, ‘टिम्बर कर्पोरेसनले सग्ला काठ दिन सकेन ।’ काठ माग्न धेरैपटक कर्पोरेसन गए पनि मागअनुसार काठ नपाएको श्रेष्ठले गुनासो गरे । मन्दिरको जीर्णोद्धार गर्न ४३ लाख रुपियाँ बराबरको काठ आवश्यक पर्छ ।
मन्दिरका पुराना काठ काम नलाग्ने भएपछि धेरै काठ आवश्यक परेको हो । अध्यक्ष श्रेष्ठले भने, ‘पुरातत्व विभागले ३० प्रतिशत काठ पुरानै प्रयोग गर्न मिल्छ भनेको थियो । मक्किएको काठ हामीले पुनः प्रयोग गरेनौँ, त्यसैले धेरै काठ चाहिएको हो ।’ काठको अभावले गर्दा पुनर्निर्माणमा केही ढिलाइ भएको श्रेष्ठले बताए ।
मन्दिर पुनर्निर्माणको काम भक्तपुरका कालिगढले गरिरहेका छन् । झ्याल, ढोका, थाम, दलिन, टुँडाललगायत सामग्रीमा बुट्टा भर्न समय लाग्ने भएकाले पनि पुनर्निर्माणमा ढिलाइ भएको हो । ‘जगैदेखि भत्काएर बनाए पनि मन्दिर दुरुस्तै पुरानो शैलीको हुन्छ । पुरातत्वको मापदण्डअनुसार बनाएका छौँ,’ श्रेष्ठले भने, ‘मन्दिर निर्माण नहुँदासम्म बाहिरै पूजा गर्न मिल्ने व्यवस्था मिलाएका छौँ ।’
मन्दिरको पुनर्निर्माण चलिरहे पनि भक्तजनको भीड नघटेको पुजारी इन्शानबहादुर थापाले बताए । भूकम्प, मधेस आन्दोलन र भारतीय पक्षले गरेको नाकावन्दीले मन्दिर दर्शन गर्न आउने भक्तजन केही मात्रामा घटेको उनको भनाइ छ । मनकामना मन्दिरमा १ दिनमा ३ हजारदेखि ७ हजारसम्म भक्तजनको घुइँचो लाग्छ । अधिकांश भक्तजन केबलकार चढेर मन्दिर आवतजावत गर्छन् भने केही भक्तजन सडक मार्गमार्फत् पनि मनकामना पुग्छन् ।
मन्दिर पुनर्निर्माणका लागि करिब १४ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ । सरकारले २ पटक गरी ४ करोड रुपियाँ उपलब्ध गराएको थियो । यस्तै, मन्दिर पुगेका भक्तजनबाट पनि चन्दा सहयोग लिइएको छ । भक्तजनबाट ५ करोड रुपियाँ संकलन भइसकेको छ । मन्दिर क्षेत्रको सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिएको छ । मन्दिरको गजुरलगायत महत्वपूर्ण सामग्रीको सुरक्षा नेपाल प्रहरीले गर्दैआएको छ ।
प्रतिक्रिया