सेवानिवृत्त शिक्षकलाई परिचयपत्र

काठमाडौं, २६ चैत । सरकारले शिक्षक सेवानिवृत्त (पेन्सनप्राप्त) शिक्षकहरूलाई पहिलोपटक परिचयपत्र दिन सुरु गरेको छ । वर्षाैं शिक्षण पेसामा आवद्ध रहेर सेवानिवृत्त भएपछि ‘पहिचानविहीन’ जस्तै बनिरहेका शिक्षकहरूलाई परिचयपत्र सम्मान र गौरवको रूपमा वितरण गरिएको हो ।

शिक्षक कर्मचारी किताब खानाको १९औँ वार्षिकोत्सवको अवसरमा शिक्षामन्त्री गरिराजमणि पोखरेलले शुक्रबार ७ जना पूर्वशिक्षकलाई परिचयपत्र वितरण गरेर अभियानको सुरुआत गरेका छन् । सेवानिवृत्त शिक्षकहरूलाई निजामति कितावखानाले यस्तो परिचयपत्र दिने व्यवस्था मिलाएको छ । किताबखानाका महाप्रवन्धक शेरबहादुर ढुंगानाका अनुसार अबदेखि देशभरका करिब ४० हजार सेवानिवृत्त शिक्षकहरूलाई परिचयपत्र वितरण गरिनेछ ।

शिक्षण पेसालाई अझ बढी ‘सामाजिक हैसियत’ प्रदान गर्न परिचयपत्र उपायोगी हुने बताइएको छ । देशमा हुने महत्वपूर्ण परिवर्तनहरूमा अहं भूमिका निर्वाह गर्ने शिक्षकहरूले अवकासपछि सम्माननीय र सुरक्षित जीवनयापन गर्नसक्ने राम्रो वातावरण अझै बन्न नसकिरहेको भन्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यो कार्यक्रम शिक्षकहरूलाई सुरक्षा प्रदान गर्ने समुच्च प्रणालीको एक सानो अंग भएको बताएका छन् ।

उनले प्रत्येक मानिसले जीवनभर कुनै क्षेत्रको सेवा गरेपछि उत्तरार्धमा आर्थिक तथा हरेक कोणबाट आफू सुरक्षित हुन पाउने अपेक्षा राख्ने प्रसंग उल्लेख गर्दै शिक्षकहरूमा पनि त्यस्तो चाहाना हुनु स्वाभाविक भएको बताए । उनले भने, ‘तर त्यो सबै समस्या समाधान भएको छैन, हामी शिक्षा ऐन निर्माण गर्दै छौँ । यो पारित भएपछि सेवा निवृत्त शिक्षकहरूलाई पनि नयाँ काम दिनसकिन्छ भन्ने हाम्रो अपेक्षा छ ।’ मन्त्री पोखरेलले परिचयपत्र प्रदान गर्नु आफैँमा महत्वपूर्ण काम भएको उल्लेख गर्दै यो एउटा शिक्षकले जीवनभर गरेको सेवाको सम्मान तथा उसको पेसाप्रतिको सम्मान पनि भएको धारणा राखे ।

प्रतिक्रिया