संसदीय दलमा पनि देउवाकै बहुमत

काठमाडौं, २६ चैत । कांग्रेसको संसदीय दलको कार्यसमितिमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षका सबैजसो उम्मेदवार विजयी भएका छन् ।

कार्यसमितिका २२ जना सदस्यका लागि शुक्रबार संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा सभापति देउवा पक्षका १८ जना सांसद् विजयी भएका छन् । ७ वटा प्रदेशमध्ये देउवा पक्षबाट २ नम्बरमा प्रेमकिशोर साह तेली, ३ नम्बरमा ध्यानगोविन्द रञ्जित, ५ नम्बरमा विक्रम खनाल र ६ नम्बरमा तप्तबहादुर विष्ट विजयी भए । संसदीय दलको नेतामा देउवासँग पराजित रामचन्द्र पौडेल पक्षधर दिपक खड्काले एक नम्बर, रामचन्द्र पोखरेलले ४ नम्बर र भरतबहादुर खड्काले ७ नम्बर प्रदेशबाट विजय हासिल गरे ।

समानुपातिक समावेशी र पिछडिएको क्षेत्रका लागि छुट्याइएको १५ सिटमा पौडेल पक्षबाट राजेन्द्रकुमार केसी मात्र विजयी भए । केसी खसआर्य पुरुषतर्फ बुद्धिराम भण्डारीलाई ३४ मतले पछाडि पारेर विजयी भएका हुन् । बाँकी १४ सीट देउवा पक्षले कब्जा गरेको छ । मधसी महिलातर्फ रश्मी ठाकुर र प्रमिलादेवी दास, मधेसी पुरुषतर्फ रामअयोध्याप्रसाद यादव, दलित महिलातर्फ आशा विक तथा दलित पुरुषतर्फ नरभान कामी विजयी भएका छन् । यस्तै, आदिवासी जनजाति महिलातर्फ उषा गुरूङ र ज्ञानकुमारी छन्त्याल, आदिवासी जनजाति पुरूषतर्फ आङटावा शेर्पा र तिर्थबहादुर लामा, खसआर्य महिलातर्फ गीता वाग्ले र मधु शाही ठकुरी, थारूतर्फ भोटनदेवी खवास तथा मुस्लिमतर्फ अब्दुल रज्जाक विजयी भएका छन् ।

पिछडिएको क्षेत्रतर्फबाट राजिवविक्रम शाह निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा अब्दुल रज्जाकले सबैभन्दा बढी १ सय ३९ मत ल्याएका छन् भने पौडेल पक्षका अब्दुल हमिद सिद्धिकीले सबैभन्दा कम ६४ मत ल्याए । ३५ सदस्यीय संसदीय दलको कार्यसमितिमा ९ सदस्य तथा उपनेता, प्रमुख सचेतक र सचेतक संसदीय दलका नेताले मनोनयन गर्ने कांग्रेसको संसदीय दलको विधानमा उल्लेख छ ।

प्रतिक्रिया