धनकुटाका नगरक्षेत्रमा सौर्य सडकबत्ती

Solar-Lights dhankutaधनकुटा, २२ चैत । धनकुटा नगर क्षेत्रका ३ सयभन्दा बढी स्थानमा सौर्य सडकबत्ती जडान गरिने भएको छ । सरकारको लोडसेडिङ हटाउने योजना अनरूप नगरपालिका क्षेत्रभर करिब ३ करोड रूपैयाँ बराबरको सोलारबत्ती जडान गर्न लागिएको हो ।

चालु आवभित्र ७५ ओटै जिल्लामा सोलार वितरण गर्ने सरकारी नीति अनरूप नगरक्षेत्रमा सोलार जडानका लागि माग पठाई सकिएको धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताए । उनका अनुसार चाँडै माग स्वीकृत हुने संभावना रहेकाले आगामी असार मसान्तभित्रै धनकुटा नगरक्षेत्रभर ३ सयभन्दा बढी सोलारबत्ती जडान गरिनेछ । नेपाल सरकारको ६५ प्रतिशत, नगरपालिकाको १५ प्रतिशत र स्थानीय समुदायको २० प्रतिशत लगानीमा सोलारबत्ती जडान गरिनेछ । लोडसेडिङको मार खेपिरहेको अवस्थामा सबैतिर सोलारबत्ती बलेपछि धनकुटा नगरपालिकाका क्षेत्रका करिब ३६ हजार नागरिक लाभान्वित हुने नगरपालिकाको भनाइ छ ।

यसअघि धनकुटा बजारको मदनचोकदेखि बीचबजार हुँदै भीमनारायण चोकसम्म नमुना स्वरूप ३४ वटा सडकबत्ती बालिएको छ । सिम नेपाल, फोहरमैला व्यवस्थापन प्राविधिक केन्द्र र स्थानीय शासन सामुदायिक विकास कार्यक्रमको सहयोगमा सोलार बत्ती जडान गरिएको हो । माग स्वीकृत भएपछि अब धनकुटा बजारको सिरवानी, डाँडाँगाउँ, तल्लो कोप्चे, माथ्लो कोप्चे, नयाँ बस्ती, हिले बजार र मुलघाट बजारमा समेत सौर्य सडकबत्ती जडान गर्ने योजना रहेको नगरपालिकाका कार्यकारी अधिकृत धितालले बताए ।

यसैबीच सोलार जडानका लागि देशभरका १ सय १७ नगरपालिकाले केन्द्रमा करिब १ अर्ब रकम माग गरेका छन् । १ वर्षभित्र लोडसेडिङ मुक्त गर्ने सरकारी योजना अनरूप देशभर नै सौर्यबत्ती जडान गर्न लागिएको हो ।

प्रतिक्रिया