वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो

जनकपुरधाम, २२ चैत । धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बर्सेनि बढ्दै गएको देखिएको छ । सुरक्षित आप्रवासन सूचना केन्द्र तथा परामर्श केन्द्र, मित्र धनुषा र जनचेतना अभियान नेपालद्वारा उक्त जानकारी दिइएको हो ।

तथ्यांक अनुसार गतवर्ष यस जिल्लाबाट २१ हजार ५ सय ८० जना वैदेशिक रोजगारीमा गएको र प्रत्येक वर्ष रोजगारीका लागि विदेश जानेको संख्यामा वृद्धिका कारण यो जिल्लाले संख्यात्मक दृष्टिले पहिलो स्थान ओगटेको छ । ०६७ सम्म दोस्रो स्थानमा रहेको यो जिल्ला ०७०/७१ देखि पहिलो स्थान ओगटेको छ । ०६७ सालमा ९ हजार ९ सय २१, ०६८ सालमा १७ हजार ६ सय ४३, ०६९ सालमा १८ हजार ८ सय ९६ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।

वैदेशिक रोजगारी जानेहरूमा स्थानीय एजेन्टबाट जानेको संख्या अधिक रहेको र अधिकांश ऋण लिएर विदेश गएका छन् । अधिकांश व्यक्तिगत श्रम स्वीकृति प्रक्रियाबाट वैदेशिक रोजगारमा गएका कारण ठगीको सिकार हुनुपरेको छ । सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र सीप लिन नचाहनु, सामाजिक लागत बढ्दै जानु, एजेन्ट तथा म्यान पावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगार असुरक्षित बन्दै गएको छ ।

वैदेशिक रोजगारीमा ठगिने क्रममा वृद्धि भए पनि यस जिल्लाबाट राहदानी लिनेमा कमी नआएको बताइन्छ । तथ्यांकअनुसार ०७१/७२ सालमा यस जिल्लाबाट ३९ हजार ५३ जनाले राहदानी लिएका छन् । यस जिल्लाबाट मुख्यतः साउदी अरब, कतार, मलेसिया र युएई जाने कामदारको संख्या अधिक देखिएको छ ।

प्रतिक्रिया