विराटनगर । चर्पी नबनाउने घरपरिवारलाई बुधनगर गाविसले कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने भएको छ । ०७४ भित्र बुधनगर गाविसलाई खुला दिसापिसाब मुक्तक्षेत्र घोषणा गर्ने अभियानअन्तर्गत गाविस र सरसफाइ समन्वय समितिले चर्पी नबनाउने घरपरिवारलाई कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने भएको हो ।
गाविस सचिव दयाराम सिलवालका अनुसार चर्पी नबनाउने घरपरिवारका सदस्यलाई नागरिकता, जग्गा नामसारी, विवाह दर्ता, सामाजिक सुरक्षा भत्ता वितरण, जन्मदर्ता, मृत्युदर्तालगायत विभिन्न सेवा गाविसबाट रोक्का गरिनेछ । गाविस सचिव सिलवालले भने, ‘चर्पी नबनाउने परिवारका सदस्यलाई गाविसले सेवा सुविधा रोक्का गर्नेछ ।’
एक दर्जन राजनीतिक दलका स्थानीय नेता र समाजसेवीलाई मिलाएर स्थानीय सरसफाइ समन्वय समिति निर्माण गरिएको छ । सरसफाइ समन्वय समितिका सदस्य तथा स्थानीय शिक्षक हरि मण्डलका अनुसार आगामी असारसम्ममा चर्पी नबनाइएका घर भेटिए सरसफाइ समन्वय समितिले गाविसलाई सेवा सुविधा रोक्का गर्न सिफारिस गर्नेछ ।
सो गाविसमा २ हजार ४ सय २६ घरपरिवारका ५ सय ८५ चर्पी रहेको र १ हजार ८ सय ४१ घरपरिवारको चर्पी नभएको बुधनगर गाविसको तथ्यांकमा उल्लेख गरिएको छ । गाविस सचिव सिलवालका अनुसार बुधनगर गाविसमा चर्पी नबनाउनेलाई ५ सयदेखि १ हजार रूपैयाँ जरिवाना गर्ने र आफ्नै खर्चमा चर्पी बनाउन लगाइने नियम बनाइएको छ । (सौस)
प्रतिक्रिया