पाँचथर, २१ चैत । पाँचथर रविबजारमा सुनचाँदी व्यवसाय गर्दे आएका झापा लखनपुर–१ का २८ वर्षीय मीनबहादुर विकलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । भीम घिमिरे घतानी भनेर चिनिने मीनलाई प्रहरीले १८ चैतमा काठमाडौंमा पक्राउ गरेको हो । नक्कली सुनको पोल खुल्ने डरले पाँचथर रविबजारका व्यवसायी ३३ वर्षीय दिनेश रेग्मीको हत्याको आरोपमा उनलाई गिरप्mतार गरिएको हो ।
१ चैतमा दिनेशको अपहरणपछि हत्या भएको प्रहरीले घटनाको अनुसन्धानपछि खुलासा गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिममा पत्रकार सम्मेलन गर्दै दिनेश हत्याको कारण सार्वजनिक गरेको हो । डिएसपी कृष्णप्रसाद कोइरालाको नेतृत्वमा अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मीनबहादुर फेला परेका हुन । प्रहरी अनुसन्धानबाट प्राप्त जानकारी अनुसार मीनबहादुरले दिनेशमार्फत अधिक मात्रामा नक्कली सुनसहितका गहना धितो राखेर लिएको ऋण तिर्न सक्ने अवस्था नभएपछि हत्याको घटना घटाएको बुझिएको छ ।
सुन राखेर ३५ लाख लिएको ऋण रुपियाँ तिर्न नसक्दा दिनेशले अन्यत्रै बेचेर असुलेको खण्डमा नक्कली सुनको पोल खुल्ने डरले मीनबहादुरले योजनाका साथ उनको हत्या गरेको जनाइएको छ । मीनबहादुरले एकजना व्यवसायिक अपराधीको उपयोग गरेर दिनेशको हत्या गरेको देखिएको बताइएको छ । यस बारेमा थप अनुसन्धान गरेर संलग्नलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताएका हुन् ।
रिचार्ज कार्ड र चुरोटको होलसेल व्यवसायी दिनेशको रविबजार नजिकैको इलाम फुयतप्पा–५ को जंगलमा लगी हत्या गरिएको थियो । रविबजारको घिमिरे ज्वेलर्सका प्रोपाइटर दिनेस र र मीन एकापसमा मिल्ने साथी रहेका स्थानीयले बताएका छन् ।
योजनावद्धले जंगल पु¥याएपछि सुनबारे विवाद निकालेर सुरुमा पछाडि टाउकोमा ह्याम्बरले हानी बेहोस पारी घाँटी, निधारलगायतमा छुरी धसेर दिनेशको हत्या गरेको भन्दै मीनबहादुरले बताएको प्रहरीले जनाएको छ । हत्या गरेकै दिन चाबी लिएर दिनेशको दोकान खोलेर गहना लुट्ने अभियुक्तको प्रयास असफल भएको समेत अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
सोही दिन बजारवासीले दिनेश हराएको जानकारी पाएपछि उनको दोकानमा अर्को चाबी लगाइदिनुका साथै प्रहरीले सुरक्षा बढाएपछि उनीहरूको लुट्ने योजना विफल भएको देखिएको छ । ग्राहकबाट आउने सुनका गहनाहरू समेत दिनेशकोमा धितो राख्ने गरेका सौखिन र महात्वकांक्षी जीवनशैलीका मीनबहादुरले ऋणमा डुबेपछि कुकृत्य गर्न पुगेको देखिएको छ । पक्राउ परेका मीनबहादुरलाई आवश्यक कारबाहीका लागि आइतबार नै पाँचथर प्रहरीले इलाम प्रहरीलाई बुझाएको छ ।
प्रतिक्रिया