लघुकथा : भाइजर नभएको हेलमेट

hema aale copyहेर्दा बेस्सरी अग्ला पनि होइनन्, होचा पनि भन्न मिल्दैन । मोटा पनि छैनन् न त नसा देखिने गरी दुब्ला छन् । धेरैबेर कुर्नै नपरी उनी सरर्र आए, मैनेर आफ्नो मोटरबाइक रोके । नीलो रङको, कुनै चलेको ब्रान्ड पनि होइन । त्यो बाइक नयाँ होइन, सेकेन्ड ह्यान्ड हुनुपर्छ तर ठीकठाक नै देखिन्छ । चाँदी रङको हेलमेट फुकालेर हातमा लिँदा थाहा पाएँ, हेलमेटमा सिसा नै रहेनछ ।

हुन त उनको बाइकभन्दा अघि पूरा नजर उनमै परेको हो । छोटो कपाल छ । सेतो पातलो भेस्ट अनि जिन्सको घुँडासम्म पुग्ने जाँघेसँग तल फाटेको कन्भर्ज जुत्ता लगाएका । जुत्ता पनि उनको हाफ प्यान्ट जस्तै कालो रङको थियो क्यारे । देब्रे नाडीमा ‘क्यू एन्ड क्यू’ घडी बाँधेका । त्यो घडीको पेटी अड्काउने हुक नभएर होला रबर ब्यान्डले बाँधेका । पछाडि काँधमा फिता छड्के पारी गिटार बोकेका । उनी, उनको बाइकमाथि अनि उनले बोकेको गिटार उनीभन्दा अग्लो(माथि) देखिन्थ्यो । बडो शिष्टता र आत्मीयताका साथ अभिवादन गरे । उनको पूरै बाहिरी हुलिया, हाउभाउ अनि व्यवहार मलाई चित्ताकर्षक लाग्यो ।

चौरमाथि आमुन्ने–सामुन्ने हुनेगरी बस्यौँ । नजिकैको ठेलामा चट्पटेको अर्डर गरे, चट्पटे झट्पट् बन्यो । ज्यादै पिरो रहेछ । मैले पिरोको उच्छ«वास नछोड्दै पानी किनेर ल्याइसकेछन् । पिरोले अत्यायो तर चिसो पानीले राहत दियो । गिटार निकाले अनि बजाउन थाले,

‘झिङ… झिङ… झिङ… ।’

साथै मैलाई हेर्दै गुनगुनाए,

‘ए मेरी…’ (उनको यो गीत रेकर्डको क्रममा भएकोले अहिले फ्ल्यास नगरौँ !)

निकै लगावले गीत गाइरहे । उनको स्वरभन्दा गिटारको धुन अनि धुनभन्दा पनि गीतका एक–एक शब्दले मन छोयो । एकाएक म रोमाञ्चित बनेँ, बेग्लै संसार अनि नौलो अनुभूतिको महसुस भो पहिलोपटक जिन्दगीमा मलाई । मन हुरुक्क भो एकपटक ।

हातमा गिटार लिएर बजाउँदै, प्रत्यक्ष मेरो अघि कोही यति विघ्न मीठो र प्रेमिल गीत गुनगुनाएको छ । दिन ढल्दै छ, हरियो चौर हामीमुनि लमतन्न फैलिएको छ । शान्त, शीतल त्यो ठाउँमा सानो हावाको झोँकाले पनि पहेँला पातहरू झारिरहेछ पलपल… । त्यही पात खसेको आवाज पनि स्पष्ट छ अनि उनले गाएको गीतका लागि थप संगीत बनेको छ । याहू च्याटका लागि हुँदो हो त म यसलाई भलखष्चयलmभलत भााभअत भनिदिन्थेँ । बेलाबेलामा मेरो सेतो सलको छेउ पनि उडाउँदै छ । कपाल पनि उडिरहेको थियो होला पछाडि अलिअलि । कुनै चलचित्रको रोमान्टिक सिनभन्दा कति फरक भो त ?

उनले भने, ‘यो गीत म आपैmँले लेखेको अनि म्युजिक कम्पोज पनि मेरो आफ्नै हो ।’

म प्रभावित बनेँ, ‘आपैmँ लेख्नु भो अनि कम्पोज पनि आफ्नै ! कसरी फु¥यो यति प्रेमिल गीत ?’

‘मेरो गलफ्रेन्ड मेरो अघि हुनेबेला उनलाई हेरीहेरी लेखेको ।’, उनले यसो भनी आफ्नो गीतको रचना गर्भ खुलाए । त्यसपछि उनीप्रति मेरो मनमा भएको सबैखाले भाव उत्तिखेरै बिलायो ।

फेरी पनि उनलाई भेटेदेखि आजसम्म उनको फाटेको जुत्ता, रबरब्यान्डले बाँधेको घडी, भाइजर नभएको हेलमेट अनि गिटार याद आइरहन्छ ।
कुमारवर्ती–७, नवलपरासी

प्रतिक्रिया