भागवत चर्चा : मान्छेको आयु सात दिन ?

पूर्वीय साहित्यमा ठूलो महत्व, महिमा र श्रद्धाका साथ अध्ययन गरिने भागवतको लेखन, नारद ऋषिको सुझावअनुसार, मानव मात्रमा शान्ति र धैर्य दिलाउनका लागि व्यासबाट भएको थियो । यसलाई उस जमानाको पुरानो पुस्तक मात्र होइन, मानिसको दुःख–कष्ट र भोक–तिर्खाको छटपटीलाई नरम बनाएर, त्यसबाट बचाएर, त्यसलाई हल गरेर, अनि त्यसका बन्धनहरूलाई खुकुलो पारेर मुक्ति दिलाउने लेप एवं प्रभावकारी मन्त्रका रूपमा पनि लिइन्छ । भनिन्छ, अठारवटा पुराण लेखिसक्दा पनि व्यासलाई नभएको सन्तुष्टि, एउटै भागवत लेखनबाट भएको थियो ।

भागवत वास्तवमा, मृत्युदण्ड पाएको एकजना व्यक्ति (परीक्षित) र तिनलाई सोको लागि सहर्ष तयार पार्ने एकजना महान सन्त (शुकदेव­)का बीच भएको वार्तालाप हो । यो, भगवान्बाट उत्पन्न भएर भौगोलिक विवरणहरू, ऐतिहासकि घटनाहरू, दार्शनिक अनुसन्धानहरू, धार्मिक व्याख्यानहरू, सात्विक जिज्ञासाहरूको लामो व्याख्यान गर्दै मानवहृदयरूपी डाँडा भन्ज्याङहरूलाई कृष्णकथाहरूका पवित्र जलले मलिलो पार्दै उनैमा विलय हुने गंगा हो । यो आफैँले पढ्नु राम्रो मानिन्छ । त्योभन्दा पनि, ज्ञानीहरूबाट व्याख्यान सुन्नु, एक्लैभन्दा पनि समूहमा सुन्नु, सच्चा साधकहरूसँग बसेर सुन्नु, सदाचारी एवं सन्त व्याख्याताबाट सुन्नु, उत्तरोत्तर उत्तम मानिन्छ ।

भनिन्छ, भगवान् यो संसारका प्रत्येक प्राणीका घटघटमा बस्नुहुन्छ । संसारमा पाप र अत्याचारको सीमा नाघेपछि, पापीहरूको नाश र धर्मात्माहरूको रक्षा गर्नका लागि भगवान्ले अवतार लिन्छन् । त्यसरी भगवान्ले अवतार लिँदा, जसरी गाईले आफ्नो बाच्छोको सुरक्षाका लागि दूध दिन्छ तर त्यसबाट अरूले पनि लाभ प्राप्त गर्छन् , त्यसरी नै त्यसबाट लाभ भने अरूले पनि प्राप्त गर्दछन् ।

यो सृष्टिको स्थिति, संहार र पालनकर्ता नै भगवान् हुन् । यस अर्थमा, यो संसार नै भगवान्को नाट्यशाला हो र यहाँ, जति पनि भइसकेका, भइरहेका र हुने घटना परिघटनाहरू छन्, ती सबै उनैका लीला हुन् । जसरी, समुद्रमा उत्पन्न हुने छालहरूको आरम्भ र अन्त्य कसैले पनि पत्ता लगाउन वा अनुमान गर्न सक्दैन, त्यसरी नै भगवान्का लीलाहरूका बारेमा पनि कसैले पनि अनुमान गर्न सक्दैन । त्यस्तो लीलाको कुनै सीमा पनि छैन । महाभारतलाई पनि तिनैमध्येको एउटा अचम्मको भगवान् लीला मान्न सकिन्छ । त्यसअन्तर्गत, तीन दाजुभाइ–धृतराष्ट्र ,पाण्डु र विदुरमध्ये धृतराष्ट्रका सय भाइ(कौरव) र पाण्डुका पाँच भाइ छोराहरू(पाण्डव)–का बीच कुरुक्षेत्रमा १८ दिनसम्म भीषण लडाइँ हुन्छ । त्यस लडाइँमा कौरवका तर्फबाट लड्ने, द्रोणाचार्य, भीष्मपितामह, जयद्रथ, कर्ण, अश्वत्थामाजस्ता ठूला ठूला वीरहरू हुन्छन् । अन्य शक्तिशाली राजाहरूले पनि कौरवलाई नै साथ दिएका हुन्छन् । तर, भगवान् कृष्णले पाण्डवलाई साथ दिएका हुँदा, लडाइँमा कौरव पक्षको हार हुन्छ र उनीहरूका सय भाइ नै मारिन्छन् । कौरवहरू सधैँ अन्याय, अत्याचार, पाप, असत्य र जालझेलको पक्षपाती हुन्छन् भने यता पाण्डवहरूचाहिँ न्याय, सदाचार, सत्य, क्षमा, धर्म र इमानदारीका पक्षधर हुन्छन् । यो लडाइँको परिणामबाट भगवान्ले मानवलाई सत्यको महान पाठ सिकाउन खोजेका छन् ।

महाभारतको लडाइँ अत्यन्त डरलाग्दो तवरले चलेको देखिन्छ । एक से एक कौरव वीरहरूलाई मार्नका लागि कृष्णजीले अनेक कुटिलताको सहारा लिनुपरेको हुन्छ । अन्यमा, युद्धमा बचेका पापिष्ट दुर्योधनलाई पनि भीमले गदा युद्धमा परास्त गरेर मरणासन्न अवस्थामा पु¥याएपछि , एकप्रकारले युद्धको अन्त्य भएको हुन्छ । आफ्नो अन्त्य अत्यन्त नजिक आइसकेको थाहा पाएर पनि, आफ्नो जन्मजात प्रवृतिअनुरूप दुर्योधन बदलाको भावनाले जलिरहेको त्यो बेलामा आइपुगेका अश्वत्थामाल,े पाण्डवहरूसँग बदला लिएरै छोड्छु भनी उनलाई सान्त्वना दिन्छन् । आफ्ना पिता द्रोणाचार्यको जालझेलपूर्ण तरिकाले ज्यान लिएको घटनाले उनी पनि पाण्डवहरूसँग आगो भइरहेका हुन्छन् । नभन्दै, अश्वत्थामा गएर सुतिरहेका पाण्डवपुत्रहरूलाई मार्छन् । आफ्ना पुत्रहरू सुतेको समयमा राती नै अश्वत्थामाबाट मारिएको थाहा पाएपछि पाण्डवहरू शोकले विह्वल हुन्छन् । अब त उनीहरूको वंशकै विनाश भएको हुन्छ ।

संयोगवश त्यतिखेर अभिमन्युकी रानी उत्तरा गर्भवती हुन्छिन् । त्यो गर्भलाई पनि तुहाउनका लागि अश्वत्थामाले कडा र विषालु तीरहरू हान्छन् । तर ती तीरबाट, हुर्कंदै गरेको बच्चालाई बचाउने काम कृष्णजीबाट हुन्छ । भनिन्छ, आफूउपर बर्सिरहेका ती तीरहरूलाई सय टुक्रामा भाँचिदिने व्यक्तिलाई देखेर ती शिशु, गर्भावस्थामै आश्चर्य र कृतज्ञताले भरिएका थिए रे ! महिना पूर्ण भएपछि, उत्तराले शिशुलाई जन्म दिन्छिन् । हजारौँ सूर्यकाभैmँ ज्योति भएका ती बालक–दयालु, स्वच्छ, आनन्दमय र नीलो आकाशसमान थिए । ती जन्मनासाथ, आफूलाई गर्भावस्थामा बचाउने व्यक्ति, त्यतिखेर आफूले मनमा अंकित गरेको रूपसँग भिडाएर, त्यो रूप कोसँग मिल्ला भनेर चिन्न खोज्दै, जसको पनि अनुहारमा एकोहोरो हेरिरहन्थे । त्यही आधारमा श्रीकृष्ण भगवान्ले बालकको नाम परीक्षित राखिदिन्छन् ।

आफ्नो वंश नै नाश होला कि भन्ने चिन्तामा डुबिरहेका पाण्डव, परीक्षितको जन्मबाट हर्षविभोर हुन्छन् । युधिष्ठिरद्वारा कृपाचार्यलाई बोलाउने काम हुन्छ । ख्याप्रिाप्त ज्योतिषीहरू, भविष्यवक्ताहरू र हस्तरेखाविद्हरू पनि बोलाइन्छन् । बालकको ग्रहगोचर अत्यन्त उत्तम भएको बताइन्छ । त्यसै प्रसंगमा युधिष्ठिरले त्यति आदर्श र गुणी राजकुमारको अन्त्य कसरी होला भन्ने जिज्ञासा पनि व्यक्त नगरिरहन सक्दैनन् । त्यसको उत्तरमा पण्डितहरूले, राजकुमारको अन्त्य कुनै ऋषिको श्रापको परिणामस्वरूप सर्पले डसेर हुने बताउँछन् । यो कुरा सुनेर पाण्डवहरू खिन्न हुन्छन् ।

बालक शुक्ल पक्षका चन्द्रमाझैँ बढ्दै जान्छन् । त्यस्तैमा केही समयपछि युधिष्ठिरले आफूहरूले महाभारतको लडाइँमा धेरै आफन्तजन मारेकाले सोको प्रायश्चितस्वरूप अश्वमेध यज्ञ गर्ने मनसाय व्यक्त गर्दछन् । त्यो यज्ञ पूरा गर्नका लागि श्रीकृष्णको सल्लाहअनुसार, अघि मारुत नाउँका राजाले यज्ञ गर्दा ब्रह्माणहरूलाई दान गरिएको प्रशस्त सुन, उनीहरूले लान नसकी गाडेको अवस्थाबाट खनेर ल्याइन्छ । उक्त यज्ञ गर्दैगर्दा, भेष बदलेर हस्तिनापुरमा डुलिरहेका विदुरलाई पनि ल्याउने काम हुन्छ । तर उनी सांसारिक जीवनदेखि विरक्त भइसकेका हुन्छन् । उनकै गोप्य सल्लाहअनुसार धृतराष्ट्र, गान्धारी र विदुर वनमा पुगी तपस्या गर्न थाल्छन् । त्यही समयमा अचानक लागेको आगोमा परी धृतराष्ट्र र गान्धारीको दुःखद निधन हुन्छ । विदुर चाहिं सकुशल नै हुन्छन् । पछि उनी पनि तीर्थयात्रामा गई आफूले रोजेको ठाउँमा प्राणान्त गर्दछन् ।

राज्यमा बढ्दै गएको अन्याय, अत्याचार, असत्य, अशिष्टता, अमर्यादा र अनेक अपशकुनहरूले युधिष्ठिरलाई कलियुगको आरम्भ भइसकेको आभास हुन थाल्छ र ठूलो चिन्ता लाग्छ । भगवान् कृष्णसँग भेट गर्न द्वारका गएका अर्जुन सात महिनादेखि फर्किरहेका हुँदैनन् । भाइ नफर्केका कारण युधिष्ठिर थप चिन्तित भइरहेका बेलामा, अर्जुन टुप्लुक्क आइपुग्छन् । तर उनले, कृष्ण भगवान परमधाम गएको, सागर उर्लेर द्वारकालाई डुबाएको र द्वारकावासीहरू पनि त्यसैमा डुबेर मरेको कुरा सुनाउँछन् । अनि यादवहरू पनि एउटा यज्ञ सम्पन्न भएपछि, नशाको सुरमा एकअर्कालाई मारामार गरेर स्वाहा भएको कुरा सुनाउँछन् । त्यसबाट महाशोकमा डुबेका पाण्डवहरू कृष्णलीला र यो मानवजीवनको व्यापक चर्र्चा परिचर्चा गर्छन् । आफू जानुअघि कृष्ण भगवानले लेखेको चिठी पनि अर्जुनले ल्याएका हुन्छन् । त्यो चिठीले उनीहरूलाई थप तरल र भावुक बनाउँछ । यन्त्रहरूलाई शक्ति दिने मन्त्र तथा तिनलाई सञ्चालन गर्ने विधि बिर्सेका कारण, जंगली मानिसहरूको आक्रमणबाट कृष्णजीकी रानी तथा सुुसारेहरूलाई लुटिनबाट आफूले जोगाउन नसकेको कुरा पनि अर्जुनले बताउँछन् । अर्जुनको त्यो स्थिति, कलियुग सुरु भएको यो अर्को प्रमाण थियो । कृष्ण भगवान्को कुरा सुन्न आतुर कुन्तीले जब उनको देहावसान भएको थाहा पाउँछिन्, उनी पनि तत्काल स्वर्ग जान्छिन् । एकपछि लगातार अर्को, कृष्ण भगवान् र रानी कुन्तीको मृत्यु भएको सुनेर प्रजागण पनि दुःखी हुन्छन् । लगत्तै धर्मराजको अगुवाइ र निर्देशनमा परीक्षितको राज्यभिषेकको तयारी हुन्छ । आफूलाई राजा बनाएर हजूरबाहरू राज्यत्याग गर्ने कुराले बालक परीक्षित भावविह्वल भई, बारम्बार त्यसो नगर्न आग्रह गर्छन् । तर, एकोहोरिइसकेका उनीहरूलाई कुनै कसैको आग्रहले पनि प्रभाव पार्न सक्दैन । महाप्रस्थान (बाटामा केही नखाई, नपिई, आराम नगरी, उत्तर दिशातिर लगातार मृत्यु नआएसम्म हिँडिरहनु)–को प्रतिज्ञा राखेका पाण्डवहरू, कसैको पनि प्रतिक्रिया, आग्रह र क्रियाकलापलाई कुनै वास्तै नगरी, शरीरमा लगाएको कपडाबाहेक केही पनि नलाइकन दरबारबाट बाहिरिन्छन् । पाण्डवहरू हिँड्दै जाँदा, आ–आफ्नो समय र स्थानमा प्रत्येकले अलग अलगै शरीर त्याग गर्छन् ।

यता परीक्षितको राज्यमा न्याय र नैतिकताको शासन चलिरहेको हुन्छ । तिनको राज्यमा चोरडाकुहरूको कुनै डर हुँदैन । यथासमयमा वर्षा भइदिनाले, सर्वसाधारण पनि सन्तोषी र सुखी हुन्छन् । परीक्षितकी रानी इरावदी पनि साध्वीमणि (गुणी, स्त्रीहरूमा रत्न) हुन्छिन् । तिनी पनि सदैव प्रजाको हित हुने काममा नै लागिरहन्छिन् । तर संसारमा कलिले प्रवेश गर्दै छ भन्ने कुरा थाहा भएकोले, त्यसको प्रकोपलाई मेटाउनका लागि राजा स्वयंले भने राज्यभरि घुमिरहनुपरेको हुन्छ ।

त्यस्तैमा महर्षि व्यास एक दिन परीक्षितको दरबारमा आइपुग्छन् । व्यासको पदार्पण भएकोमा अत्यन्त खुसी भएका परीक्षितले उनलाई आफ्नो बालककालको बारेमा बताउन आग्रह गर्छन् । व्यासले पनि परीक्षितको बालककाल र तिनका हजूरबाहरूको कसरी बिहे भयो भन्ने विषयमा वर्णन गर्दछन् । व्यासले त्यति मात्र हैन, खाण्डववनलाई अग्निद्वारा भष्म गरिएको, अर्जुनले अग्निबाट वरदान पाएको र तिनका पितामहहरूको कृष्ण भगवानसँगको प्रेम, मातामह द्रौपदीको बेइज्जत हुनुको कारण, उनको श्राप, पाण्डवहरू वनबास जानुको कारण, वनबासमा पाण्डवहरूको नाश गराउन कौरवहरूद्वारा दुर्वासा ऋषिलाई पठाइएको, महाभारत युद्ध हुनुको कारण, कृष्ण भगवान्ले पाण्डवहरूको पक्ष लिएर युद्ध जिताएको– यस्ता धेरै विषयमा परीक्षितलाई जानकारी गरााउँछन् ।

व्यासबाट आफ्नो पुर्खाका बारेमा अद्वितीय कुराहरू सुनेपछि परीक्षितको मन एकतमासको भएर आउँछ । तिनलाई एक्लै बस्न मन लाग्न थाल्छ । राजकाजमा पनि त्यति ध्यान दिँदैनन् । अनि उनी मन बहलाउनका लागि जंगलमा सिकार खेल्न जाने इच्छा गरी सोको बन्दोबस्त मिलाउँछन् । जंगलमा सिकार खेल्दै हिँड्ने क्रममा, परीक्षित सेवकहरूबाट छेलिएर एकातिर लागेपछि भोक प्यासले आकुल भएका उनी जंगलमा देखिएको एउटा आश्रममा पुग्छन् । त्यहाँ तिनी, ‘पानी !’ ‘पानी !’, ‘स्वामी ! स्वामी’ ! भन्छन् । तर कुटीभित्रबाट कुनै उत्तर आउँदैन । प्यासले तिनको गला सुकिसकेको थियो । रिसको झोंकमा तिनले आफूले भुइँमा टेक्न पुगेको मरेको सर्प, त्यहाँ मूर्तिवत् ध्यान गरेर बसिरहेका सन्यासीको टाउकामा हालिदिन्छन् ।

ती ध्यानस्थ ऋषि समीक थिए । उनका छोरा श्रृंगी कतै साथीहरूसँग खेलिरहेका हुन्छन् । कसैले उनका पिताको तात्कालिक अवस्थाको जानकारी गराएपछि उनी कुद्दै पिताभाठौँ पुग्छन् । क्रोधवश तिनले, ‘जसले मेरा पिताको गलामा मरेको सर्प हालिदियो, त्यसलाई आजको सात दिनमा सर्पले ठुँगेर, त्यसैको विषले त्यसको मृत्युु हुनेछ’ भनी श्राप दिन्छन् । पछि यो कुरा थाहा पाएर ऋषि समीक छोरासँग रिसाउँछन् पनि । तर, जे नहुनुपर्ने त्यो भइसकेको थियो । त्यसैले एकजना शिष्यलाई पठाएर, राजालाई उनले पाएको श्रापका बारेमा जानकारी गराउने काम हुन्छ । आफ्नो कर्मका कारण आपैmँ पछुतो मानिरहेका परीक्षित, आफूले ऋषिपुत्रबाट श्राप पाएको सुनेर दुःखी हुनुको साटो, यो श्राप नभएर भगवान्को कृपाद्वारा पठाइएको सूचनारूपी उपहार हो भनी खुसी हुन्छन् । लगत्तै राजा, छोरालाई बोलाउन लगाएर मुकुट पहि¥याइदिँदै, खाली खुट्टा र आफूले शरीरमा लगाएको लुगा मात्रै लिएर गंगातिर प्रस्थान गर्छन् । अनि त्यहाँ गंगाको तीरमा आमरण अनसन बसेर उनी निरन्तर भगवान्को नाम जप्न थाल्छन् । यो खबर सहर, गाउँ जताततै फैलिएपछि अनेक साधु–सन्यासीहरू कमण्डलु लिएर गंगाकिनारमा आइपुग्छन् र बालुवा नै नदेखिने गरी त्यो ठाउँ ढाकिन्छ । उपस्थित साधु, सन्यासी र ऋषिमुनिहरूलाई परीक्षितले आफ्ना बारेका सबै कुराहरू बताउँछन् । भगवान्को महिमाको निरन्तर ध्यान गरेर ती सात दिन बिताउने निश्चय गरेका उनलाई त्यस श्रापको तीक्ष्णता कम होस् भनेर प्रार्थना गर्नेहरू पनि हुन थाल्छन् । राजाले चाहिँ, ‘मजस्तो सात दिन मात्र आयु भएको मान्छेले के गर्नुपर्छ ?’ भनेर प्रश्न राख्छन् । अनि त्यसको उत्तरमा जपतप, यज्ञयज्ञादि, व्रत पूजादि, दान पुण्य, वेदशास्त्रमा वर्णित पवित्र कार्यहरू गर्ने कुराहरू बताइन्छ । त्यत्तिकैमा त्यहाँ युवा ऋषि व्यासपुत्र शुकदेव आइपुग्छन् । उनी आएपछि त्यहाँको वातावरण नै बदलिन्छ । शुकदेवछेउ पनि परीक्षितले उही प्रश्न, ‘स्वामी ! मृत्यु मुखेञ्जी भएको व्यक्ति, जसलाई यो अन्त्य हुन्छ भन्ने ज्ञान छ , तिनले के गर्नुपर्छ ? तिनको मनले केमा विचरण गर्नुपर्छ ? मृत्युपछि फेरि जन्मनु नपरोस् भन्ने तिनको प्रार्थना छ भने, तिनले कसरी हातमा रहेका दिनहरू बिताउनुपर्छ ? हालमा मलाई यही समस्याले सताइरहेको छ । मेरो कर्तव्य के हो ? राख्छन् । राजाको प्रश्नको उत्तरमा शुकदेवले भागवत तत्वका बारेमा शिक्षा दिने कुरा बताउँछन् । त्यस क्रममा उनले मान्छेलाई आध्यात्मिक र वैराग्यको मार्गमा लैजानका लागि जे जति कुराहरू परीक्षितलाई बताउँछन्, त्यसैलाई भागवत भन्न सकिन्छ । यो मानव मात्रका लागि मुक्तिको विज्ञान हो । भनिन्छ, अठार पुराण लेखिसक्दा पनि व्यासजीलाई कुनै सन्तोष भएनछ र उनले यो कुरा नारद ऋषिलाई बताएछन् । नारदले, भगवान्को चरित्रका विषयमा नलेखेको कारणले गर्दा सन्तोष नभएको हो भनेपछि कृष्णजीको चरित्र भएको यो भागवत लेखेका रे, र यो लेखेपछि नै उनलाई सन्तोष भएको थियो रे । महर्षि शुकदेवका मुखारविन्दबाट भनिएको हुँदा यसलाई शुकसागर पनि भनिन्छ । यसमा मानिसको जीवनलाई सार्थक पार्नका लागि वर्णन गरिएका ज्ञानहरूलाई तीन भागमा बाँडेर बुझ्न सकिन्छ :
१) भगवान्का अवतरको महिमा अनि गौरव,
२) भगवान्का सम्पूर्ण रूपले भक्ति गर्ने भक्तहरूका नाम,
३) भगवान् र भक्तहरूका माझको आन्तरिक सम्बन्ध ।

यस्ता धेरै कुराहरूको बयान गर्दै गर्दा, सात दिन बितेको पत्तै हुँदैन । त्यत्तिकैमा अकस्मात् एउटा सर्पले परीक्षित राजालाई ठुँगेर चाँडो–चाँडो जाँदै गरेको दृश्य त्यहाँ उपस्थित सबैले देख्छन् । महाराज परीक्षित ‘कृष्ण ! कृष्ण !’ भन्दै जोर जोरसँग कराउन थाल्छन् र गोपालसँग लीन हुन्छन् ।

यसरी भागवतमा परीक्षित राजालाई समग्र मानवीय विम्ब बनाएर उनैको उदाहरणबाट, कुनै पनि मानिसको आयु सात दिन भनेर प्रमाणित गरिएको छ । हुन पनि हो, मानिसको मृत्यु आइतबारदेखि लिएर शनिबारभित्रै त हुने हो ! यी अमूल्य सात दिनभित्र जसले मानवीय मूल्य मान्यताले भरिएका कामहरू गर्न सक्छ, साँचो अर्थमा उसैको जीवन सार्थक र भागवतमय हुन्छ ।

प्रतिक्रिया