क्रसर उद्योगको मनपरी

indrawati river copyकाभ्रे, १९ चैत । इन्द्रावती दोहनको विवाद फेरि चर्किएको छ । विगत डेढ वर्षदेखि स्थानीयको अवरोधका कारण बन्द हुँदै आएको मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिले इन्द्रावतीको बीचभागबाट अनधिकृत रूपमा उत्खनन् गरेर नदीजन्य सामग्री निकाल्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

प्रालिका सञ्चालक राजभक्त प्रधानलाई पटकपटक सचेत गराउँदा पनि मनोमानी ढंगले उत्खनन् गराएको आरोप स्थानीयको छ । अझ सञ्चालक प्रधानले आफ्नो शक्तिको प्रयोग गरी गतवर्ष खोला सिधा पार्ने भन्दै ५० लाख रूपैयाँ लिएर देखावटी रूपमा स्काभेटर लगाई आफ्नो क्रसर जोगाएकाले झन् ठूलै विवादको रूप लिएको छ ।

यस विषयलाई लिएर जिल्ला विकास समितिसँग जानकारी लिँदा उक्त रकम सिँचाइ डिभिजनले दिएकोले आपूmहरूलाई यस विषयमा थाहा नभएको १ कर्मचारीले बताए । स्थानीयले उक्त रकमले १५÷२० दिन स्काभेटर लगाएको र क्रसरमा आउने पानीको बहावलाई मात्र नियन्त्रण गरेको दाबी गरेका छन् । ‘यसपटक पनि जल–उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. १० भक्तपुरबाट ०७३÷७४ का इन्द्रावती बगर करिडोर आयोजन शीर्षकमा ५० लाख बजेट विनियोजन भएको छ ।

काभ्रे–सिन्धुपाल्चोकको सिमानामा रहेको उक्त नदी सिमांकन नगरी करिडोर कसरी सम्भव हुन्छ ?’ स्थानीय कविराज ढकालले प्रश्न उठाएका छन् । इन्द्रावती नदिकोे बहावलाई मनोमानी ढंगले परिवर्तन गरी भर्खरै निर्माण भएको महादेवस्थान लिफ्ट सिँचाइमा पु¥याइदिँदा आयोजनाले निर्माण गरेको इनारलगायत भौतिक संरचनामा क्षति पुगेको स्थानीयको आरोप छ । उक्त कार्यले महादेवस्थनमा सञ्चालन भइसकेको लिफ्ट सिँचाइ पुनः बन्द भएको छ ।

यसका कारण महादेवस्थानका २ वडाका स्थानीय पानीबाट वञ्चित भएको स्थानीय शम्भु फुयालले बताए । फुयालले उक्त वडाका सर्वसाधारणको समस्या समाधानका लागि स्थानीयहरूले मिलेर निर्माण गरेको र १ वर्ष अगाडि सञ्चालनमा आइसकेको भएपनि यो गत मंसिरपछि मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिले नदीको बहाव इनारतर्फ लगाइदिँदा वर्षाको बाढीले इनार क्षति भएको बताए । मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिले पटकपटक आयोजना स्थलमा ढलान गरी नदी नजाने बनाइदिन्छु भन्ने गरेको भए पनि वास्ता नगरेको श्यामकृष्ण लम्साल बताउँछन् ।

स्थानीय अगुवाहरूले यस विषयलाई लिएर तत्काल सम्बन्धित निकायमा उजुरी गर्ने बताएका छन् । पटकपटक सम्झाउँदा पनि मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिका सञ्चालक प्रधानले बाटो बनाइदिने, बाटाका खोल्साहरूमा हिमपाइप हालिदिने, नदीलाई व्यवस्थित गरीदिने जस्ता झुटा आश्वासन दिने र उद्योग सञ्चालनमा आएपछि वास्ता नगर्ने र पैसा छैन भन्दै टार्ने गरेको स्थानीय बसिन्दाहरू बताउँछन् । स्थानीय केही व्यक्तिहरूलाई प्रयोग गरी मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिले विगत १० वर्षदेखि इन्द्रावती दोहन गर्दै आएका कारण नदी ५ मिटरभन्दा बढी गहिरिएको बताइएको छ । जसका कारण भर्खरै निर्माण भएको पक्की पुलसमेत भासिने खतरा बढेको छ ।

स्थानीयले पुलको बीचभागमा रहेका २ वटा पिल्लरको भागको जमिन डेढ मिटरभन्दा बढी भासिएको र जम्मा गहिराई ३ मिटर मात्रै भएकाले पनि पुल खतरामा परेको बताएका छन् । साथै सर्वसाधारणको सयौँ रोपनी खेत बगर बनेको र नदीले तीव्र रूपमा कटान गरिरहेको स्थानीय विदुर चौलागाइँ बताउँछन् ।

सर्वसाधारणले नदीबाट सिँचाइ गर्दै आएकोमा नदीको सतह गहिरिएपछि मोटर प्रयोग गरी पानी तान्नुपर्ने अवस्था आएको स्थानिय किसानहरूले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिले बेवास्ता गरी नदी उत्खनन् गर्न दिएको र केही समय बन्द हुँदा पनि उद्योगीले सेटिङ मिलाई पटकपटक नदीको बीच भागबाट उत्खनन् गरेको स्थानीयको आरोप छ । गतवर्ष जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र जिल्ला विकास समतिले उद्योगभन्दा झन्डै २ किमि तलको व्यक्तिको जग्गा एकतर्फी रूपमा उत्खनन् गर्न मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिलाई दिएको स्थानीयले बताएका छन् ।

उक्त कार्यका लागि उद्योगीले आर्थिक चलखेलसमेत गरेकोे आरोप छ । उत्खनन्स्थल वनक्षेत्रबाट पनि नजिक रहेकाले उक्त कार्यमा जिल्ला वन कार्यालय काभ्रेको पनि मिलेमतो हुनसक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गरेका छन् ।

प्रतिक्रिया