साहित्य पेसा कि सपना ?

hang youg copy

अस्ति एकजना फेसबुकमित्रले मेसेज गरे, ‘कविता लेखेर राष्ट्रलाई के योगदान हुन्छ र ? यथार्थ धरातलमा आउनूस्, मिलेर देश बनाऔँ ।’ मैले फर्काएँ जवाफ, ‘म फुलटाइमर कवि होइन । मेरो पेसा वैदेशिक रोजगार हो । रेमिट्यान्स पठाइरहेछु देशलाई ।’ अनि ती मित्र गायव भए । फुलटायमर कविहरूले समाजमा के छाप पारेका रहेछन् भने कविहरू भनेका अन्य काम नै नगर्ने, खालि कविता मात्रै लेख्ने र फोकटमा दिन बिताउने डुकुलन्ठ्याङ्हरू हुन् । यो लेख म तिनै फेसबुकेमित्रलाई समर्पण गर्न चाहन्छु जसको बुझाइमा साहित्यकारले अन्य पेसा गर्दैन, खालि साहित्यको धोक्रो बोकेर बकम्फुसे कुरो गर्दै हिँड्छ ।

पछिल्लो दशकमा नेपाली साहित्य लेखेर आयआर्जन गर्न सकिन्छ भन्नेमा नेपाली लेखकहरू हदै उत्साहित छन् । चालीसको दशकमा पोखरामा सरुभक्तहरूले टिकट बिक्री गरेर मुक्तक सुनाउँथे । ०६२÷६३ को लोकतान्त्रिक आन्दोलनमा कवि श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ पपुलर भएपछि देशविदेशमा उनको एकल कविता वाचन आयोजना भयो र उनले कविताबाटै सर्वाधिक रकम संकलन पनि गरे । कविता वाचनबाट पनि पैसा कमाउन सकिने रहेछ भन्ने मान्यता अहिले लगभग स्थापित भइसकेको छ । फलस्वरूप अहिले नेपालमा महिनैपिच्छे एकल कविता वाचनहरू भइरहेका छन् । आख्यानमा चाहिँ नारायण वाग्लेको ‘पल्पसा क्याफे’को आक्रमक प्रचारशैलीले किताब बिक्रीमा नयाँ रेकर्ड नै राख्यो । ‘पल्पसा क्याफे’कै ह्याङओभरमा लेखकहरू उपन्यास लेख्न हतारिएका पाइन्छन् हिजोआज । बजारमा आख्यानको माग ह्वात्तै बढेको छ, अतः एकैरातमा लाखौँ कमाउने सपना देख्नु गलत पनि होइन । तर, यो सपनाले लेखकहरू यसरी बुरुक्कै उफ्रिन थालेका छन् कि उनीहरूले बिर्सिरहेछन् यथार्थ धरातल । र, साहित्य नै आफ्नो पेसा भएको जिकिरसमेत गर्न पछि पर्दैनन् । साहित्य धेरैले किनेर पढे, लेखकलाई नाफा भयो, आफूले लेखेको साहित्यको बिक्रीबाट लेखक बाँच्यो भने यो अधिकतम खुसीको कुरो मान्न सकिन्छ । तर, जब साहित्यकारले पैसा कमाउनलाई नै साहित्य लेख्न थाल्छ तब सोच्दछु नेपाली साहित्यमा अब ‘पपुलर कल्चर’ लेखिनेछ । गम्भीर विषयवस्तु अब साहित्यको रुचि नहुन सक्छ । साहित्य लेखेर ‘सर्भाइब’ हुने नाममा कतै हामीबाट त्रुटिहरू त भइरहेका छैनन् ? के साहित्य पेसा हुन सक्छ ? के अन्य पेसाकर्मीले साहित्य लेख्न सक्दैन ? साहित्यमा ‘फुलटाइमर’ हुनु भनेको के हो ? के वैदेशिक रोजगारीमा गएकाहरूले साहित्य लेख्नुको कुनै तुक छैन ? यस्ता अनेकौँ प्रश्नहरू उभिन्छ्न् ।

विश्वका महान नाटककार तथा कवि विलियम सेक्सपियरले आजभन्दा चार सय वर्षअगाडि लेखेको साहित्य आज पनि विश्वमा धेरै बिक्री हुने साहित्य हो । उनले लेखेका नाटकहरू अहिले पनि विभिन्न भाषामा मञ्चन हुन्छन्, फिलिमहरू समेत बनेका छन् । सेक्सपियरका कृतिहरूलाई नयाँ बाइबलसमेत मानिन्छ किनभने भनिन्छ बाइबल हुने हरेक घरमा सेक्सपियरको कृति हुन्छ । यति महान् कृतिहरूको सर्जक सेक्सपियरको पेसा भने अर्कै थियो । सेक्सपियरले नाटकमा अभिनय गर्थे र उनको गुजारा चल्थ्यो । सेक्सपियरको पेसा नाटक लेख्नु या कविता लेख्नु थिएन । यदि सेक्सपियरले साहित्यलाई पेसा बनाएको भए यति स्तरीय साहित्य लेख्थे कि लेख्दैनन् थिए ? प्रश्न उब्जिन्छ नै । उनले रोमियो–जुलियट, टुवेल्फ्त् नाइट र हेम्लेट जस्ता नाटक लेख्ने थिएनन् होला । उनले राजा हेनरी बारे मात्रै नाटकहरू लेख्ने थिए कि ? र, त्यो पनि पूरै अर्चना र भक्ति रसमा ।

आजभन्दा सय वर्ष अगाडि अर्का महान् कवि टिएस इलियट (जसका कविताहरूविना आधुनिक अंग्रेजी कविता नै अधुरो हुन्छ)ले यौटा बैंकमा स्थायी कर्मचारीका रूपमा काम गर्न थालेपछि नै शक्तिशाली कविता लेख्न थालेको कुरा समीक्षकहरू बताउँछन् । इलियट अमेरिकामा जन्मे, हुर्के, पढे तर पछि ऊनी बेलायत आएर जागिर खाए । बेलायतबाटै कविताहरू लेखे । उनले कवितालाई पेसा बनाएनन् । यदि उनले कवितालाई पेसा बनाएको भए “वेस्ट लेन्ड“ जस्ता कविता लेख्ने थिएनन् । पूर्वीय दर्शनशास्त्रमा भिज्ने थिएनन् । कवितालाई पेसा बनाएको भए सस्ता र चल्ने विषयवस्तु बारे लेख्ने थिए । एनजिओ टाइपका कविताहरू लेख्ने थिए ।

त्यस्तै, सन् २०११ को साहित्यमा नोबेल पुरस्कार विजेता टुमस ट्रान्सटु«मरले पनि कविता लेखनलाई आफ्नो पेसा बनाएनन् । कवि ट्रान्सट्रुमर पेसाले मनोवैज्ञानिक थिए । सन् २०१२ को साहित्यमा नोबेल पुरस्कार विजेता चीनका कथाकार तथा उपन्यासकार मो यान पेसाले शिक्षक थिए । सन् २००७ को साहित्यमा नोबेल पुरस्कार विजेता कथाकार डोरिस लेस्सिङको पेसा ‘केयर गिभर’ र ‘टेलिफोन अपरेटर’ थिए । नेपालका साहित्यकारहरूको पेसा प्राध्यापन, शिक्षण, प्रशासन, पत्रकारिता, व्यापारव्यवसाय, वैदेशिक रोजगार र अन्य रहेको पाइन्छ । पुख्र्याैली सम्पत्ति हुने साहित्यकारहरूको पेसा कृषि रहेकोे पनि पाइन्छ भने कोहीकोही चाहिँ बाउबाजेको सम्पत्तिले जीवन धानेर साहित्यमा जमे । मलाई लाग्छ साहित्य पेसा भयो भने बजारको माग अनुसार लेखिने सम्भावना रहन्छ । मेरो अध्ययन अनुसार असली साहित्य सर्जकहरूले साहित्यलाई पेसा बनाएनन्, सपना बनाए । सपना बनाएकैले उनीहरूले लेखेको साहित्य कहिले खुइलिएन, सधैँ ताजा रूपमा जिवित भइरह्यो ।

सन् १९९७ मा जेके रोलिङको हेरी पोर्टर लाखौँ प्रति बिक्री भयो र सन् २००७ सम्म आइपुग्दा जेके रोलिङले हेरी पोर्टरको ‘सेरिज’बाट आफूलाई ‘मिलेनियर’को लहरमा उभ्याउन सफल भइन् । फेन्टासी र जादुको दुनियाँमा आधारित हेरी पोर्टर सिरिज लेखक जिवित हुँदै धेरै बिक्री हुने पुस्तकमा गनिन्छ । हेरी पोर्टरको प्रभाव नेपाली साहित्य पनि बिस्तारै पर्न थालेको देखिन्छ । रातारात जेके रोलिङ हुने सपना देख्ने नेपाली साहित्यकारलाई साहित्य पेसा लाग्नु स्वाभाविक पनि हो । आक्रमक विज्ञापनशैलीले पुस्तक पाठकहरूको नजरमा पर्लान् र किन्लान् ।

साहित्य पेसा भयो भने त्यसको मूल्य घट्छ भन्ने कुरामा दुई मत नहुन सक्छ । साहित्यलाई पेसा बनाएको खण्डमा निश्चितरूपमा बिक्ने खालको लेख्नुपर्ने हुन्छ । साहित्यलाई पेसा बनाएपछि पुरस्कार संकलन गर्नका निम्ति अनेकौँ खुराफात गर्नुपर्ने हुन्छ । साहित्यलाई पेसा बनाएपछि पत्रिकाको सम्पादकीय पढेर ‘साहित्यिक आर्टिकल’हरूको रूपरङ कोर्नुपर्ने हुन्छ । साहित्यलाई पेसा बनाएपछि झुर पुस्तकलाई पनि राम्रो छ भनेर समीक्षा लेख्नुपर्ने हुन्छ । साहित्यलाई पेसा बनाएपछि साहित्य किन्ने मान्छेहरूको पक्षमा लेख्नुपर्ने हुन्छ । साहित्यलाई पेसा बनाएपछि अरूकै विचार बोक्नुपर्ने हुन्छ । त्यसो त मेरो प्रष्ट धारणा छ कि फुलटाइमर लेखक हुनु भनेको साहित्यमा भ्रष्टाचारी हुन हो । चोकगल्लीमा गफ लगाएर, भट्टीपसलमा भाषण छाँटेर फुलटाइमर भइटोपल्नुभन्दा पत्रकार हुनु, पार्टीको लेखक हुनु, अलैँची रोप्नु, मकै फलाउनु र साहित्य गर्नु नै महान् हो । कवि जसराज किराती छन् यौटा जो गाउँमै शिक्षण पेसामा लागिरहे र कविता पनि लेखिरहे । के जसराज किराती फुलटाइमर कवि नभएकोले तुच्छ कवि भए त ? पक्कै ऊनी महान् कवि हुन् जसले साहित्यलाई पेसासँग तुलना गरेनन् ।

मलाई लाग्छ राजनीति र साहित्य पेसा हुनुहुँदैन । राजनीति सेवा हुनुपर्छ र साहित्य सपना । साहित्यलाई पेसाको रूपमा अँगाल्न थाले खेतमा धान फल्दैन, करेसामा साग जाग्दैन, बाटो र पुल बन्दैन, पर्यटन विकास हुँदैन, रेमिट्यान्स आउँदैन, उत्पीडितउपेक्षितका विचार लेखिदैनन् । कर्पोरेट विचार मात्रै लेखिन्छन् । कविता लेखनलाई पेसा बनाइयो भने चाकरी र ज्यूहजुरीका कविता लेखिनेछ्न्, चेतनाका कविताहरू ‘भाड’मा जान्छ्न् । त्यसकारण साहित्यकारले आयआर्जनको लागि अन्य पेसा अँगाल्न पर्छ ।

उहिले प्लेटोले आदर्श राज्यको परिकल्पना गर्दा कविलाई राज्यबाट धपाउनुपर्छ भनेका थिए । उनको मान्यता कविहरू कोरा भावुकता रमाएर अन्य जीवनोपयोगी काम गर्दैनन् भन्ने थियो । कविले लटरम्म स्याउ फलेको कविता लेख्छ तर वास्तविक स्याउ फलाउँदैन त्यसकारण कविको काम छैन भने उनले । कविता या साहित्यलाई पेसा बनाउनु भनेको प्लेटोले भनेभैmँ समाजका लागि कामै नलाग्ने हुनु हो । म भन्छु कवि कृषक, डाक्टर इन्जिनियर, पत्रकार, प्राध्यापक, प्रशासक, केयरगिभर, श्रमिक सबै हुनुपर्छ ।

त्यसकारण साहित्यकारहरूले अन्य पेसा अँगाल्दा गर्व गर्न सिकौँ कि राष्ट्रलाई दुई थोक दिइरहेका छन् । फुलटाइमर कवि भएर नहिँडौँ, श्रम गर्न सिकौँ । साहित्यलाई पेसा होइन, सपना बनाऔँ । यौटा त्यस्तो सपना जसले समाजलाई विकासको बाटोमा लैजाओस्, परिवर्तनको उज्यालो बोकोस् । कर्पोरेट साहित्यमा नफसौँ ।

प्रतिक्रिया