तिमी नहुँदा

indra copy

 

 

 

 

 

तिम्रा साथ हुँदा अहा ! दिनहरू कस्ता मजाका थिए
तिम्रो साथ छुटेर आज नहुँदा त्यै दिन नराम्रा भए
तिम्रो साथ नपाई बाँच्नु कसरी ? यो छैन रे सम्भव
मन पोलिरहने र आँसु बहने यस्तै हुने भो अब ।

एकछिन देख्न नपाउँदा छटपटी हुन्थ्यो मलाई किन ?
त्यस्तै नै तिमीलाई हुन्छ कि भनी सोध्दा पनि सोधिनँ
माया कत्ति दिएर मार्गबीचमै घायल बनायौँ प्रिय
मेरा बाँकी रहे म दिऊँ कसरी ? छातीभरि जो थिए ।

बाटोमा तिमीसँग हिँड्दा अति नै आनन्द लाग्थ्यो अहा !
हेराहेर गरी कुरा पनि गरी हामी हिँड्यौँ सर्वदा
तिमी मेरी अभिन्न अंगजसरी हुन्थ्यौ नि रे गौरव
बाटो लामु छ रे उही विरसिलो काटूँ कसोरी अब ।

सुन्थ्यौ गीतहरू सुरम्य कविता मेरा तिमी चाखले
‘कस्तो लेख्नुभ‘को रुवाउँछ !’ भनी धुन्थ्यौ नयनगाजले
झन् लेख्थेँ म अरू सुनाउन भनी भेटूँ नि कैले हुने
गथ्र्यौं ती कविता सुनेर कहिले छोएर सँगै रुने ।

हाँस्दा फूल पूmलेसरी सकलमा लाग्थ्यो तिमीमा सदा
बोल्दा मात लगाउँदो सुनिरहूँ लाग्थ्यो सधैँ सम्झँदा
श्रीखण्डैजसरी अहा ! मगमगी बास्ना भएकी तिमी
मेरो हृदयमा सधैँ बसिदिने मात्रै तिमी नै तिमी ।

तिम्रो चाल चिनेर दूर पथमै हेरेर ठम्याउँथेँ
आयौ रे तिमी फर्कियौ घर भनी टाढा उतै हेर्दथेँ
मेरो यो मुटुमा असाध्य शूल भो गाडे कसैले किला
मेटेछन् कसले यताउति हरे ! तिम्रा सबै पाइला ।

भन्थ्यौ निष्ठुर भै, ‘नहूँ म तर यो संसार बाँकी छ नि’
हा ! भन्नै कसरी सक्यौ तिमीविना संसार क्यै छैन नि
बाँच्नै बाँकी छ रे ! अझै कति यहाँ रोएर सम्झिकन
मैले कत्ति गरेँ प्रयत्न कहिल्यै खै सक्छु रे बिर्सन !

लामो जीवनमा सुलक्क दिन ती छोटै भई चिप्लिए
के के नै गरुँला भनेर मनमा ईच्छा रहेका थिए
स्वप्नभैmँ हुन गो एकैपलकको त्यो नीदले जिन्दगी
फेरी आउँदिनाँै कि रूप बदली आफ्नै रहरमा बगी ?

तिम्रो भो जति जो अभाव उसको पूरा गरुँ के गरी ?
तिम्रै मात्र छ याद हरपल यहाँ धूवाँसरी हर्हरी
तिर्खा भोक भुलेर रात दिन यी बित्लान् कसोरी अब
रित्तो यो धरती कहाँ छ पिरती बाँच्नै कहाँ सम्भव ?
–कमलाकुञ्ज, ओखलढुंगा ।

प्रतिक्रिया