बाँच्नुपर्ने किन ?

 

upadhya copy

 

 

 

 

आज आमाबुबा छन् सयौँ शोकमा ।
पुत्रको कष्टले छन् कयौँ भोकमा ।।
वाक्क छन् पुत्रको निर्धनी कामले ।
दिक्कछन् चौदिशा व्याप्त दुर्नामले ।।१।।

पुत्रको चित्तमा छैन संवेदना ।
पीर बुझ्ने छैन सञ्चेतना ।।
बाबुआमा दुबै पीर खप्छन् सधैँ ।
कष्टमा रोपिँदो झीर खेप्छन् सधैँ ।।२।।
बाबुले नीचता तोड्न सम्झाउँछन् ।
दासता, दीनता छोड्न सम्झाउँछन् ।।
तुच्छ बानीहरू शीघ्र त्यागिकन ।
चित्त आदर्शमा मोड्न सम्झाउँछन् ।।३।।

पुत्र वात्सल्यले मौन मातृत्व छ ।
बोल्न सक्दैन उम्लन्छ मातृत्व त ।।
भकभकी पाक्छ, पग्लन्छ पोखिन्छ त्यो ।
भित्र गाँडो गराएर कोक्किन्छ त्यो ।।४।।

पुत्र राम्रो बनोस् चाहना हो यही ।
मार्ग राम्रो खनोस् भावना हो यही ।।
पुत्रका लागि अर्ती तीतो लाग्दछ ।
स्वर्ण छोडेर जर्ती मीठो लाग्दछ ।।५।।

पुत्रले बाबुको आँशु खान्छन् भने ।
नित्य नै मामुको मासु खान्छन् भने ।।
ती कुकर्मीहरू बाँच्नुपर्ने किन ? ।।
दुःख छर्दै यहाँ नाच्नुपर्ने किन ? ।।६।।

– देवघाट चितवन

प्रतिक्रिया