सिवाइसी अत्तरिया फाइनलमा

dhangadi cricketधनगढी, ९ चैत । सिवाइसी अत्तरिया धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग–३ को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएको क्वालिफायरमा क्याम्पसरोडलाई ७ विकेटले पराजित पार्दै सिवाइसी अत्तरियाले फाइनल यात्रा तय गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रेको क्याम्पसरोडले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । क्याम्पसरोडका नवौँ नम्बरका ब्याट्सम्यान नारायण जोशीले १ चौकाको मद्दतले बनाएको २३ रन ब्याटबाट बनेको सवैभन्दा शीर्ष स्कोर हो । त्यस्तै ओपनर सरोज ऐरले १५ तथा सागर भण्डारीले ९ रन बनाए ।

पहिलो ओभरको अन्तिम बलमा ओपनर कप्तान रोमन बमलाई ५ रनमा गुमाएको क्याम्पसरोडका ब्याट्सम्यानहरूलाई सिवाइसी अत्तरियाका बलरहरूले धेरैबेर क्रिजमा टिक्न दिएनन् । अत्तरियाका विनोद भण्डारीले छैठाँै ओभरको पहिलो बलमा अर्का ओपनर सरोज ऐरलाई र अन्तिम बलमा क्याम्पसरोडका मुख्य ब्याट्सम्यान सन्तोष भट्टलाई १ रनमै बोल्ड पारेपछि क्याम्पसरोड दबाबमा आएको थियो । त्यस्तै १३ ओभरको दोस्रो बलमा अत्तरियाका लोकेश बम(११ रन) र अन्तिम बलमा पारस रावललाई शून्य रनमै पवेलियन फर्काएपछि क्याम्पसरोडले ठूलो स्कोर बनाउन सकेन । सिवासी अत्तरियाका प्रेम तामाङ निकै राम्रो लयमा देखिए । प्रेमले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर १५ रन दिई ४ विकेट लिए । त्यस्तै ज्ञानेन्द्र कुँवर र विनोद भण्डारीले समान २ विकेट लिएपछि क्याम्पसरोड खेलमा फर्कन सकेन ।

दोस्रो इनिङको पहिलो बलमै ललित सिंह भण्डारीले अत्तरियाका ओपनर शैलेश कठायतलाई १ रनमै पवेलियन फर्काए पनि कम स्कोर भएका कारण क्याम्पसरोड सिधै फाइनलमा पुग्नबाट चुक्यो । सिवाइसी अत्तरियाले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । प्रेम तामाङको ४० र कप्तान महबुब आलमको ३७ रनको पारी खेल्दै टिमलाई फाइनल पु¥याए । प्रेमले ५२ बलको सामना गर्दै ५ चौका प्रहार गरे त्यस्तै महबुब आलमले २० बलको सामना गर्दा ३ चौका र ३ छक्का प्रहार गरे । निकै संघर्ष गरेका क्याम्पसरोडका बलरहरूको कम स्कोरका सामु केही चलेन् । क्याम्पसरोडका ललित सिंह भण्डारी, चन्द्र सावद र सागर भण्डारीले समान १ विकेट लिए । खेलका म्यान अफ द म्याच सिवाइसी अत्तरियाका प्रेम तामाङलाई नेपाली कांग्रेस, धनगढीका नगरसभापति नृप वडु तथा एमाले धनगढी नगर कमिटीका अध्यक्ष पुष्कल कर्माचार्यले ५ हजारसहित पुरुष्कृत गरे ।

त्यस्तै एलिमेनेटर चरणको अर्को खेलमा चौराहाले हसनपुर रोयल्र्सलाई ७८ रनको जित निकाल्दै दोस्रो क्वालिफाएरका लागि क्याम्पसरोडसँगको भेट पक्का गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चौराहाले भूवन कार्कीको ३९ र विपिन रावलको २३ रनको मदतले २० ओभरमा १ सय ५२ रन बनायो । जवाफी ब्याटिङमा हसनपुरले १७ दशमलव ४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । हसनपुरका लागि ललित बमले २९ र विनोद लामाले २१ बाहेक अन्य ब्याट्सम्यानले लामो इनिङ खेल्न नसक्दा हसनपुर रोयल्र्सले प्रतियोगिताको यात्रा टुंग्यायो । चौराहालाई दोस्रो क्वालिफायरमा पु¥याउने क्रममा म्यान अफ द म्याच भूवन कार्कीले २ तथा सोनु तामाङले ३ विकेट लिए । क्वालिफायर चरणको दोस्रो खेलमा ११ चैतमा चौराहा र क्याम्पसरोड भिड्नेछन् । विजेता टोलीले फाइनलमा सिवाइसी अत्तरियासँगको भेट पक्का गर्नेछ ।

प्रतिक्रिया