नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ पदयात्रापछि गुरुङ समुदायको घनाबस्ती रहेको भिरकुना गाउँ पुगे ।
राजकुमार ह्यारीले गौँडा गाविस–४ भिरकुनाबाट वडा नं ७ को लेउरानी गाउँसम्म एक घन्टाको पदयात्रा गरेका थिए । उनी गुरुङ समुदायको बस्ती, प्रकृति र ग्रामीण जनजीवनको अवलोकन गर्दै पदयात्रामा सहभागी भएका थिए । राजकुमार ह्यारीसहितको टोली सोमबार सोही गाउँमा घरबास (होमस्टे) मा बसे ।
ह्यारी गाउँमा पुग्दा स्थानीय गुरुङ परम्परानुसार फेटा बाँधेर, चामलको सेतो टीका र फूलमाला लगाएर स्थानीयवासीले स्वागत गरेका थिए । उनले ८८ वर्षीया मंगली तामाङका घरमा बनाइएको कोदाको ढिँडो, स्थानीय कुखुराको मासु, गोलभेँडाको पिरो अचारसहितको परिकार खाएका थिए । ‘मैले अफगानिस्तानमा गोर्खा सैनिकसँग रहँदा पिरो अचार खाएको थिएँ, पिरो अचारले शरीर तात्छ, आज यहाँ पानी परेर चिसो भएकाले अरू स्थानीय परिकारसहित गोलभेँडाको पिरो अचार मलाई विशेष स्वादिलो लाग्यो’, राजकुमार ह्यारीले भने ।
यसअघि त्यहाँ गुरुङ परम्परानुसार देखाइएको घाँटु र तामाङ नाचमा राजकुमार ह्यारी पनि नाचेका थिए । ह्यारीले वडा नं ७ को लेउरानी गाउँमा पुगेर दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट लडेका गोर्खा सैनिक गञ्जुराम तामाङकी ८८ वर्षीया पत्नी मंगलीलाई भेटेका थिए । ‘आफूले यसरी बेलायतका राजकुमारलाई भेट्छु भन्ने सोचेको थिइनँ, भेट भयो, साह्रै खुसी लागेको छ’, मंगलीले भनिन् । सो अवसरमा मंगलीले ह्यारीसँग आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले औषधोपचार र भूकम्पले क्षति पु¥याएको घर निर्माणका लागि सहयोगको अपेक्षा गरेकी थिइन् । राजकुमार ह्यारीले पनि गोर्खा कल्याणकारी कोषमार्फत सहयोग पु¥याउने वचन दिए । उनले भूकम्पले क्षति पु¥याएको भूतपूर्व ब्रिटिस गोर्खा परिवारका घर र त्यहाँ रहेका आफन्तसँग जानकारी लिएका थिए ।
प्रतिक्रिया