हारसँगै एथलेटिकोको उपाधि होड कमजोर

मड्रिड । स्पेनिस ला–लिगाको दोस्रो स्थानमा रहेको एथलेटिको मड्रिडलाई उपाधि होड ठूलो झड्का लागेको छ । शनिबार राती भएको खेलमा हार बेहोरेपछि उपाधि होड कमजोर बनेको छ । हारपछि मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ५ मा छोट्याउने मौका गुमाएको छ । ला–लिगाअन्तर्गत शनिबार राती भएको खेलमा एथलेटिको मड्रिड स्पोर्टिङ डी गिजोनसँग २–१ ले पराजित भयो ।

हार बेहोरे पनि मड्रिडले खेलमा सुरुआती अग्रता लियो । मड्रिड त्यो अग्रतालाई नै सीमित बनाइरहँदा स्पोर्टिङले झड्का दिएको थियो । पहिलो हाफको २९औँ मिनेटमा मड्रिडले गोल गर्दै खेलमा १–० ले अगाडि बड्यो । उसका लागि एन्टोनियो ग्रिजम्यानले गोल गरेका थिए । पहिलो हाफमा मड्रिडले १–० अग्रता लिँदै टुग्याएको थियो ।

दोस्रो हाफको अन्तिम १२ मिनेटसम्म खेललाई आफ्नो नियन्त्रणमा लिएको मड्रिडले गोल खान पुग्यो । स्पोर्टिङ डी गिजोनका लागि ७९औँ मिनेटमा सानाब्रिएले बराबरी गोल गरे । खेल बराबरीकै अवस्था सकिन लाग्दा स्पोर्टिङ डी गिजोनले गोल गर्दै मड्रिडलाई ठूलो झड्का दिएको थियो । दोस्रो हाफको ८९औँ मिनेटमा कार्लोस कास्ट्रोले गोल गर्दै आफ्नो टिमलाई जितको नजिकै पु¥याए । तर, बाँकी समयमा गोल हुन नसकेपछि पछि कास्ट्रोको गोल नै निर्णायक बन्न पुग्यो । सुरुआती अग्रता जोगाउन नसक्दा एथलेटिको मड्रिडको उपाधि दाबेदारी कमजोर बनेको बन्यो ।

हारपछि दोस्रो स्थानको एथलेटिको मड्रिडको ३० खेलबाट ६७ अंक छ । १ खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोनाको ७५ अंक छ । रेलिगेसन जोनमा रहेको स्पोर्टिङको ३० खेलबाट २७ अंक छ । अन्य खेलमा लास पालमसले रियल सोसिडाड तथा मालागाले रियल बेटिसलाई समान १–० हराए । त्यस्तै डिप्रोटिभो डी ला कोरुनाले लेभान्टेलाई २–१ ले पराजित ग¥यो । अर्को खेलमा रायो भालेकानो र ग्रनाडाले २–२ को बराबरी खेले । (एजेन्सी)

प्रतिक्रिया